begger_india

०१ चैत्र। भनिन्छ, धन हुनेहरुसँग मन हुँदैन तर मन हुनेहरुसँग धन हुँदैन । तर कहिलेकाहीँ भने धन र मन दुबे जुट्छ । अझ धन छैन भनिएकाहरुले पनि मन फुकाएर दान गर्दछन् ।

भारतमा यस्तै भएको छ । भारतको गुजराँतका एकजना भिखारीले दान तथा पुण्यको अनौठो उदाहरण पेश गरेका छन् । उनले आफुले जिवनभर मागेर कमाएको धन दान गरेका छन् । उनले कुनै मानिसलाई दान गरेका होइनन्, परेवाका निम्ति आफ्नो कमाइ दान गरे ।

भिखारीले कति पो कमाए होला? भन्नुहोला । पछिल्लो ४० वर्षदेखि भिख मागेर गुजारा गर्दै आएका पोपट नामका यी भिखारीले आफुले कमाएको १ लाख भारु दान गरेका हुन् । उनले परेवाको लागि टावर बनाउन भन्दै यो रकम दान गरेका हुन् । उक्त पक्की परेवा टावरमा ती दानी भिखारी पोपटको नाम मुख्य दानकर्ताको रुपमा अंकित गरिनेछ ।

भुजको प्रसिद्ध शिव मन्दिरका पुजारी आफैले उक्त परेवा गृहको निगरानी गर्नेछन् । खबर अनुसार पोपटले रकम दान गरेको यो पहिलोपटक होइन । उनले यसअघि पनि बेलाबेलामा आफ्नो कमाइको केही हिस्सा मन्दिरलाई दान गर्दै आएका थिए ।

उनको मानसिक अवस्था पनि ठीक छैन । उनले पैसा कति रुपैयाँ हो भनेर गन्न पनि सक्दैनन् । मन्दिरकै पुजारीले उनको बैंक खाता खोलिदिएर रकम जम्मा गरिदिने गरेका छन् र उनको खातामा १ लाख १५ हजार भारु जम्मा भएको छ ।

 

तपाईको प्रतिक्रिया