congress

३ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले ७ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।बुधबार अपराह्न पार्टी कार्यालय सानेपामा आयोजित नवनिर्वाचितलाई प्रमाण पत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा देउवाले १३ औं महाधिवेशनमा पराजित भएका अनुहारलाई केन्द्रीय सदस्यमा मनोनित गरेको घोषणा गरेका हुन् ।

यसरी मनोनित हुनेमा देउवाका प्रतिस्पर्धी रामचन्द्र पौडेल, अर्का प्रतिस्पर्धी कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुन नरसिंह केसी, गगन थापा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरी रहेका छन् ।

यसैगरीको निवर्तमान सभापति सुशील कोइरालाको निधनको खबरले बिरामी भएर चुनावी प्रतिस्पर्धामा भाग लिन नपाएका नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।कांग्रेसको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले निर्वाचित ६४ जना पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरे ।उक्त समारोहमा बोल्ने सबै नेताले पार्टीलाई एक ढिक्का बनाउने उदघोष गरेका थिए ।

झण्डै छुटेका थिए गगन
देउवाले मनोनितहरुको नाम घोषणा गर्ने क्रममा गगन थापालाई छुटाएका थिए । त्यसपछि हलमा सहभागीहरुले अनौठो माने र कानेखुसी चल्यो ।लगतै कार्यक्रम सञ्चालकले सबै मनोनितहरुको नाम भन्ने क्रममा महामन्त्रीमा पराजित गगनको नाम पनि भनेका थिए ।

तपाईको प्रतिक्रिया