12325009_1027051840676076_857852145_n
इनरुवा चैत्र ७/नेपाली राजनीतिका शिखर पुरुष गिरीजाप्रसाद कोइरालाको इनरुवामा सालिक बन्ने भएको छ ।
नेपाली काँग्रेस सुनसरीले पार्टी कार्यालय हातामा कोइरालाको सालिक निर्माण गर्न लागेको हो ।
कोइरालाको बन्न लागेको सालिकको आज उनकै छोरी तथा काँग्रेस नेतृ सुजाता कोइरालाले शिलान्यास गर्नु भएको छ ।
छैठौं स्मृति दिवसको अवसर पारेर काँग्रेस सुनसरीले स्वर्गिय कोइरालाको सालिक निर्माणको कार्य प्रारम्भ गरेको छ ।
सुनसरी काँग्रेसले आजबाटै पार्टी कार्यालयलाई गिरीजाप्रसाद कोइराला स्मृति प्रतिष्ठानमा रुपान्तरण समेत गरेको छ ।
स्मृति दिवसमा आयोजित कार्यक्रममा काँग्रेस नेता तथा कार्यकर्ताहरुले गणतन्त्र नेपालको पहिलो राष्ट्राध्यक्ष बन्न सफल गिरीजाप्रसाद कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेतृ सुजाता कोइरालाले गिरीजाप्रसाद कोइरालाले अघि बढाउनु भएको मेलमिलाप, सहमति र सहकार्यको सिद्धान्तलाई आफुले समेत निरन्तरता दिने बताउनुभयो ।
नेतृ कोइरालाले काँग्रेसलाई एक ढिक्का बनाएर अघि लैजानु आफ्नो पहिलो प्राथमिकता हुने बताउनुभयो ।
कोइरालाले मूलुकको निकाशका लागि सबै दल आपसमा मिलेर अघि बढ्नुको विकल्प नरहेको धारणा समेत व्यक्त गर्नु भयो । कार्यक्रममा काँग्रेस सुनसरी सभापति राजिब कोइराला सहितका क्षेत्र तथा जिल्लास्तरीय नेताहरुले बोलेका थिए ।

तपाईको प्रतिक्रिया