daku pasman

७ चैत्र, ​सिराहा, अमर पासमान । पूर्वपश्चिम राजमार्गको लहानबाट करिब ३० किलोमिटर दक्षिणपश्चिमको सीमावर्ती गाउँ हो– इँटाटार, कमलपुर। पासवान (दुसाद) जातिको बाक्लो बसोबास रहेको कमलपुरमा उतिबेला दिनहुँ कोलाहल मच्चन्थ्यो। कतिबेला पुलिस आउला र ‘मर्द’ लाई घिचिमुन्टी पारेर लैजाला भन्ने त्रासमा हुन्थे महिला। बालबालिका कखरा होइन, डकैती कला सक्थे।

डाँकु बस्ती भनेर चिनिएको कमलपुरमा त्यतिबेला कहिल्यै शान्ति थिएन। डकैती गरेर ल्याएको पैसाले सधैं दारु, मासुको भोज चल्थ्यो। झैंझडगा र प्रहरीको त्रासले कोही चैनसँग सुत्न पाउँदैनथे।

०४६ को परिवर्तनसँगै बस्तीको मुहार बदलिन थाल्यो। पूर्वडाँकु र डाँकुका सरदार भनेर बदनाम कमाएकाहरु अहिले सदाचारी, साकाहारी र शान्तिकामी भनेर चिनिएका छन्। आर्थिक उपार्जनले फुसका छाना फेरिएका छन्, सिमेन्टका घर ठडिएका छन्। घरघरमा पढ्ने बालबालिका छन्, तन्नेरी बिदेसिएर कमाउँछन्, महिला भैंसी पालेर, तरकारी फलाएर पैसा कमाउँछन्।

चरित्रसँगै गाउँको मुहार फेरिएकोमा पूर्वडाँकुहरु पनि शान्तिको सास फेरिरहेका छन्।कमलपुरका रामअशिष पासवान (५५) ले १२ वर्षको कलिलो उमेरदेखि नै डकैतीमा संलग्न भए, उमेर छउन्जेल यसैलाई गुजाराको माध्यम बनाए। पारिवारिक माहोलले यही पेसा अपनाउन हौस्याएको थियो उनलाई।

बाबु मिन्त्री पासवान खुंखार डाँकु थिए। उनीसँग भरुवा बन्दुकदेखि घरेलु हतियार सबै थियो जसको आडमा उनी डाँकुहरुको सरदार (नाइके) थिए। समूहमा सिरहा, सप्तरी, धनुषा र सर्लाहीसम्मका डाँकु सहभागी थिए।

डाँकु सरदार मिन्त्रीको सानसौकत मन्त्रीको भन्दा कम थिएन त्यतिबेला। जे चाह्यो उही हुने। जहाँ गयो उहीँ सलामी पाउने। सुन, चाँदी, पैसा जेसुकै। मिन्त्रीको सानसौकत देखेर उनका सन्ततिले पनि उही बाटो रोजेका थिए।

त्यही विरासत थाम्न रामअशिष अगाडि आए। मिन्त्रीपछि उनी पनि सरदार भए।जिल्लामा सरुवा भएर आउने पुलिसका हाकिम रामअशिषलाई सलाम ठोक्थे। त्यसको स्वार्थ थियो– जिल्लामा आफ्नो कार्यकालमा कुनै डकैती नहोस्।’सिरहा र भारतपट्टिको लदनिया थानाका हाकिम जे भन्यो त्यही मान्थे, त्यसैले लदनिया र सिरहामा डकैती गर्दैनथ्यौं,’ रामअशिषले विगत सम्झँदै भने।

गाउँका जमिनदार आफूलाई डाँकाबाट सुरक्षित राख्न कुत (वार्षिक करजस्तै) रुपमा सरदारलाई धान, गहुँ बुझाउँथे। जिल्लाबाहिर धेरैजसो भारतीय सहरमा डकैती गर्न सुरक्षित ठान्थे यहाँका डाँकु।’३०–४० जनाको समूहमा गाउँ प्रवेश गरेर एक राउन्ड फायर गरेपछि भागाभाग मच्चन्थ्यो,’ उनले सुनाए, ‘अनि आरामले गरगहना, नगद डकैती गरेर फर्कन्थ्यौं।’

उनका अनुसार डकैती गरेर फर्केपछि साथमा सम्पत्ति त हुन्थ्यो तर मन भने आफैंबाट हराउँथ्यो। जुन क्षेत्रमा गकैती गर्योअ, त्यहाँबाट कति बेला आफूलाई खोज्दै पुलिस गाउँ पस्ने हुन्, डरले शान्ति हराउँथ्यो गाउँको।

त्यसो त डाँका गरेर ल्याएको सम्पत्ति मोजमस्ती (दारु–मासु) मै सक्थे उनीहरु। घरको सामान्य खाँचो टार्नुबाहेक कुनै ठोस काम गर्दैनथे। ‘उतिबेला अलारे ठिटो, दुनियाँदारी भन्दा पनि मोजमस्ती र सानसौकत भए पुगिहाल्थ्यो,’ रामअशिषले सुनाए।

गाउँका जमिनदार, वारिपारिका पुलिसले सलाम ठोकिहाल्थे। जे खान मन लाग्यो, पुगिहाल्थ्यो। बाँकी के चाहियो र? ‘मासु खान मन लागे गाउँमा कसको खसी मोटो छ, त्यही उठाइहाल्थ्यौं। दारु गाउँमै पाइहाल्थ्यो,’ उनी भन्छन्, ‘खानपिन गरेर मस्तीले बस्दा पनि शान्ति भने हुँदैनथ्यो। भारतीय पुलिसको डरले मनको शान्ति उडाउँथ्यो।’

पञ्चायतकालमा नेपालतर्फका चौकीमा पुलिस त हुन्थे तर हतियार (बन्दुक) हुँदैनथ्यो जसको भरपुर फाइदा डाँकाले उठाउँथे। बहुदल आएपछि बिस्तारै गाउँका प्रहरीचौकीमा पनि बन्दुकवाल पुलिस थपिए।

०४६ को परिवर्तनपछि डाँकाहरु डकैतीसँगै नेताहरुको गोटी बन्न थाले। अन्तरजिल्ला र अन्तरसीमा डाँकु आमनिर्वाचनमा नेताहरुका हतियार बन्न थाले। डाँकाका डरले आमजनता जे भन्यो, त्यही मान्न बाध्य हुन्थे। नेताहरु डाँकालाई संरक्षण दिन्थे र त्यसबापत जनतालाई आफ्नो पक्षमा मतदान गर्न बाध्य बनाउँथे।

माओवादी द्वन्द्वकालमा गाउँका जमिनदार आफू र आफ्नो सम्पत्ति सुरक्षाका हतियारसमेत डाँकुलाई बनाएका थिए। डाँकुको दबदबा पहिलेदेखि गाउँमा कायम थियो। उनीहरु गाउँमा संगठित थिए। जसकारण डाँका बस्ने गाउँमा उनीहरुको मर्जीबेगर कसैले कुनै हर्कत गर्दैनथे। जमिनदार डाँकुलाई पालेर आफूलाई सुरक्षित बनाउँथे द्वन्द्वकालमा।

रामअशिष सम्झन्छन्, ‘माओवादीले बाहिरका मानिसलाई जे गरे पनि हाम्रा मान्छेलाई छुँदैनथे, उनीहरु हामीलाई आफूसँग आबद्ध गराउन कसरत गर्थे तर हामी उनीहरुसँग गएनौं।’ माओवादीले धम्काए पनि हामीसँग पनि बन्दुक छ, चलाउन पनि जानेका छौं भनेपछि जोर नगरेको उनी सम्झन्छन्।

कमलपुरका अर्का नामी डाँकु थिए– झौली पासवान। उनीसँग पनि मेचीदेखि महाकाली, सीमापार डकैती गरेका ताजा सम्झना छन्। सीमापारि डकैती गर्दा उनी कहिल्यै पुलिसको फन्दामा परेनन् तर ०३५ सालताका डकैती गर्न उनी धरान पुगे। धरानका केशरबहादुर थापाको घर छिरे डकैती गर्न।

गाउँबाट तीन साथी लिएर उनी धरान पुगे। उनको समूहमा एक महिला पनि थिइन्। राति थापाको घरको झ्याल फुटाएर झौली समूह घर प्रवेश गरे। उनको घरमा डकैतीको उद्देश्य थियो– हतियार लुट्ने। सोहीअनुसार उनी घरभित्र प्रवेश गरी दुई थान हतियार बोके र लकर उठाएर जंगलतिर भागे। जंगलमा पुगेर ढुंगाबाट लकर फुटाले। लकरभित्र ६ हजार रुपैयाँ थियो। रुपैयाँ च्यापेर लकर त्यहीँ छाडी उनीहरु खोलैखोला इटहरी पुगे हतियार लिएर। इटहरीबाट बसमार्फत हतियार गोलबजारसम्म ल्याउनु थियो जुन सजिलो थिएन।

यो कामका लागि उनले बसका कन्डक्टर गुहारे तर मानेन। उनले अर्को जुक्ति निकाले। चटाइमा हतियार लुकाएर बसको छतमा राखेर ल्याउने। उनले त्यही गरे। झौलीलाई थाहा थिएन, कन्डक्टरले प्रहरीलाई खबर पुर्यााएको।

धरानमा हतियार डकैती गरेर बसमा ल्याउँदैछ भन्ने सूचना प्रहरीसम्म पुगिसकेको थियो। प्रहरीले पश्चिम (सिरहा) आउने सबै बसमा जाँचपडताल कडा पारे। लहान आइपुग्दा प्रहरीले बसबाट हतियारसहित झौलीलाई पक्राउ गर्योश।

२ हजार २ सय ८० रुपैयाँ धरौटीमा छुट्थे यस्ता अभियुक्त त्यतिबेला। झौलीलाई यो कुरा राम्ररी थाहा थियो। त्यसैले पक्राउ खाए पनि उनलाई पर्वाह थिएन तर प्रहरीले हातहतियार तथा खरखजाना ऐनसहित चोरीको मुद्दा पनि दर्ता गरिदियो। हतियार मुद्दा सिरहा र चोरी मुद्दा सुनसरीमा। उनीमाथि अर्को मुद्दा पनि दर्ता भयो, सिरहा दुर्गापुरको डकैती मुद्दा।

उनी करिब पाँच वर्षका लागि जेल चलान भए। पाँच वर्षपछि ३६ हजार धरौटीमा जेलमुत्क भए। धरौटीबापत १० कठ्ठा जग्गा राखे। ‘त्यो जग्गा अहिलेसम्म पनि फुकुवा भएको छैन,’ झौलीले भने, ‘जेल पनि परेँ, जग्गा पनि गयो।’

‘सय दिन चोरको, एक दिन पुलिसको’ हुँदो रहेछ भन्ने त्यतिबेला थाहा पाए झौलीले। ‘सम्पत्ति पनि गयो, समाजमा पनि बद्नामी कमाएँ,’ उनले भने, ‘जेल परेपछि कानुन थाहा पाएँ र छुटेर यो कामबाट संन्यास लिने अठोट लिएँ।’

त्यतिबेलैदेखि डाँकु जीवन त्यागेर उनी साधारण व्यक्ति बने। अहिले दुई छोरालाई रोजगारका लागि साउदी पठाएका छन् झौलीले। ‘मिहिनेतको रोटीमा जुन आनन्द छ, त्यो डकैतीमा रहेनछ, मनको शान्तिभन्दा ठूलो कुनै चिज हुँदोरहेनछ,’ उनी भन्छन्, ‘वर्तमानको कामले विगतको दाग पखाल्दैछु।’

रामअशिष पनि छोराले कतारबाट पठाएको रुपैयाँबाट किनेको भैंसीको दूध बेचेर राम्रो कमाइ गरिरहेका छन्। दिनभर भैंसी स्याहार्दै उनको समय बित्छ। जीवनको ऊर्जावान समय डाँकु बनेर खेर फालेकोमा पछुताउँदै उनी भन्छन्, ‘जुन बेला जोसजाँगर थियो, बुद्धि पलाएन। अहिले छोराले विदेशमा पसिना चुहाएर कमाएको पैसा सदुपयोग गर्दैछु।’

छोराको कमाइले गाउँमा पक्की घर बनाएका छन् रामअशिषले। खेत पनि जोडेका छन्। घर खर्च चलाउन भैंसी पालेका छन्।’गलत काम गरेर धनआर्जन गर्न सकिँदोरहेनछ भन्ने अहिले महसुस भइरहेको छ,’ उनी पछुताउँछन्, ‘छोराहरुजस्तै मैले पनि पसिनाको कमाइमा भर परेको भए घरको अवस्था अझ सम्पन्न हुने थियो।’

दारु र मासुमा रमाउने उनी अहिले पूर्ण साकाहारी बनेका छन्।रामअशिषका भतिजो धर्मेन्द पासवान गाउँका पहिलो स्नातक युवा हुन्। उनी भन्छन, ‘डाँका पेसा त्यागेर रत्नाकर डाँकु वाल्मीकि बने भने उहाँहरु किन सुध्रन सक्नु हुन्न?’ धर्मेन्द्र भन्छन्। उनका अनुसार अहिले पूर्वडाँकुका जीवनमा आर्थिक परिवर्तन आएको छ। फुसको छाप्रोले पक्की घरको रुप लिँदैछ। घरमा बस्ने महिला तथा वृद्धवृद्धाले तरकारी खेती, भैंसीपालन गरी थप आर्थिक लाभ लिन थालेको धर्मेन्द बताउँछन्।

प्रत्येक घरबाट युवा रोजगारीका लागि खाडी मुलुक छन्। उनीहरुले पठाएको पैसाले परिवारको आर्थिक स्तर मात्र उकासिएको छैन, बालबालिकालाई स्कुल पढाउने सोच पनि पलाएको छ। बस्तीमा पढ्ने उमेरका बालबालिका गाउँकै निजी र सामुदायिक विद्यालय पढ्न जान्छन्। आर्थिक स्तर उकासिएसँगै यो बस्तीमा बच्चालाई पढाउनुपर्छ भने सोचसमेत विकास भएको छ,’ धर्मेन्द्र भन्छन्, ‘उहिलेका डाँकुले अहिले पढाइको महत्व बुझ्न थालेका छन्, यो गज्जबको परिवर्तन हो।’

तपाईको प्रतिक्रिया