timthumb

पारिवारिक सुरक्षाको लोकअनुष्ठान झिझिया महोत्तरी लगायत मिथिलाञ्चलमा सुरु भएको छ। यसमा पूर्णरुपमा तांन्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी स्तुतिको लोक परम्परामा आधारित लोक नृत्य प्रस्तुत गरिन्छ। झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफना सन्तानको सुरक्षा गर्नु रहेको छ।

यसको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ। बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ।

झिझिया लोकनृत्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा क्षेत्र लगायत भारतीय क्षेत्र बेनीपट्टि, मधुवनी, जयनगर, सीतामढी, सहरसा आदि क्षेत्रमा पनि प्रस्तुत गरिन्छ। झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृतिले यसको निहित विशेष अर्थलाई सङ्केत गर्छ। महिलाको टाउकोमा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्यो भने त्यो नाच्ने महिला ठहरै हुन्छ भन्ने जनविश्वास रहेको छ।

एक विशेष ताल र आरोह अवरोहमा गाइने गीतको बोलसँगै टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै दुवै हातले गीतको भाउमा ताली बजाउँदै जाँदा अदुत वातावरणको निर्माण हुन्छ र महिला यस लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन भइरहेका हुन्छन्। नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ।

झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ। झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोक नृत्य हो, जसमा बलिरहेको दियो भएको असंख्य प्वाल पारिएको घैंटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ। यसको बनावट र स्वरुप भित्र जादु, टुनामुना, बोक्सी आदिको परम्परागत मान्यता रहेकाले समाजमा व्याप्त बोक्सीको प्रभावलाई कम गर्न यसको अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ।

कुनै कुनै बेला ताली बजाउँदै टाउको तल ल्याउँछन, फेरि ताली बजाउँदै यथास्थानमा राख्छन। घैंटामा बलिरहेको दियोको मद्धिम प्रकाश, मुहानमा दन्किरहेको आगो, तालमा नाचिरहेकी कुनै महिला र झुन्डमा गीतको लहरीले अदभुत वातावरणको निर्माण हुन्छ र महिलाहरु यस लोकअनुष्ठानमा सुर विर्सेर तल्लीन भइरहेका हुन्छन। नृत्यसँगै गाइरहेको गीतमा बोक्सीलाई गाली गरिरहेको हुन्छ। विश्वास छ कि बोक्सीलाई गाली गर्नाले उनीहरुको मारक क्षमतामा कमी आउँछ र बालबच्चाको सुरक्षा हुन्छ।

समाजमा प्रचलित जनविश्वासअनुसार गाउँकी डाइनी बोक्सी महिला जादु मन्त्र सिकेर, त्यसको सिद्धिका लागि गाउँका जन्मजात बालबालिकाहरुलाई कुनै करणीद्वारा मारेर मसानमा त्यहीं मरेको बच्चालाई जिउँदो पारी नाङ्गै नृत्य गर्छन्। विजयादशमीको अवसरमा यस्ता घटनामा बृद्धि हुन थालेपछि महिलाहरु नै एउटा धार्मिक, साँस्कृतिक अनुष्ठानको सुरुवात गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्ने बोक्सीहरुको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ। आफ्ना साखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ।

यसको अर्को उद्देश्य दशमीको बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको छ। झिझिया नृत्य गर्दै गाइने गीतहरुमा बोक्सीलाई गाली गर्नुका साथै भगवती दुर्गालाई अभ्यर्थना गरिएका अत्यन्त मोहक गीतहरु पनि गाइन्छ। त्यसमा प्रत्येक दसैंमा आफ्ना खास सवारीसाथ आउने भगवतीको शृङ्गार डोलीमा सवारी र कामख्याको गन्तव्यको सजीव चित्रण गरिएका गीतहरु गाइने गरिन्छ।

झिझिया नृत्य प्रारम्भ गर्न पूर्व तयारी गर्नुपर्छ। एउटा वा दुइटा स्वच्छ घैंटो किनेर ल्याइन्छ। त्यसलाई सफासुग्घर गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा मट्टितेल हालेर दन्काइन्छ। त्यसपछि टाउकामा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ। तर, टाउकामा राखी नृत्यका लागि झिझिया तयार हुन्छ। तर, टाउकामा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ। अर्थात् बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गरिन्छ–

“सभ्य गुरुक बन्दे पाउँ। बजर केवाडी।

बजर बान्हो दशो दुआरी।

मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो…………………………….।”

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकामा आगो दन्किरहेको घैंटो राखेर बिना हातको सहारा लिई नाच्दैं ब्रह्मस्थानतिर पुग्छन्। त्यहाँ अराधना गर्दछन् र त्यहींबाट औपचारिक रुपमा नृत्य सुरु गरी गाउँका भद्रभलादमीहरुको घरमा पुगि नृत्य देखाउँछन् र पूर्णाहुतिका लागि अन्न रुपियाँ चन्दा माग्छन्। त्यही मागिएको रकम जोडेर दशमीका दिन पूजा पाठ, भोज भात र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य विसर्जन हुन्छ।

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता , पहिचान र इतिहास छ। गाग्रीमाथि धधकिरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैंमा साहास र कलाको अलौकिक प्रर्दशन हो झिझिया नृत्य। समाज रुपान्तरणको क्रममा रहेको समयमा यो लोकनृत्य आजपनि गाउघरमा मात्रै नभइ शहरमा समेत प्रचलनमा छ र यसलाइ निरन्तरता दिइदैंछ। तराइका अधिकांश जिल्लाहरुमा समय समयमा बोक्सी प्रकरणका घटनाहरु सुनिदै आएको छ। कानूनले त्यस्ता प्रकरणलाइ असत्य भन्दै प्रकरणमा मुछिएकाहरुलाइ सजाय निर्धारण गरेपनि न त बोक्सीको प्रसङ्ग नै हटेको छ न त्यस्ता घटनाहरुमा कमी नै आएको छैन्। तर समाजमा बोक्सीको उपस्थिति रहेकेा भन्दै सातौं आठौं शताब्दीतिर पूर्खाहरुले बोक्सीको विरुद्धमा प्रतिकार गर्ने उद्येश्यले एउटा अनौठो नृत्यको प्रदर्शन गर्दै झिझिया नृत्यको जग बसाले। गाउ घरमा ती झिझिया नृत्यले निरन्तरता पाइरहदा शहर पनि त्यसबाट अछूतो छैन ।

बोक्सीका मुद्याहरु तराइतिर दशैंको समयमा बिगतका दिनदेखि नै अझै बेसी सुनिएका छन्। बोक्सीले आफ्नो तन्त्र अर्थात शक्ति प्राप्त गर्ने समय दशैं नै हो भन्नेमा विश्वास गर्नेको संख्याको कमी छैन। त्यस्ता बोक्सी विरुद्ध प्रतिकार गर्ने उद्येश्यले बिगतका दिनहरुमा झिझिया नृत्य मात्र गाउ“मा नै हुने सुनिदै आएको छ। तर शिक्षामा पहुच सगै जनचेतना र भरभलाद्मीकेा उपस्थिति रहने गरेको शहरमा पनि त्यस्ता बोक्सी प्रकरणविरुद्ध अपनाइने उपायलाई अगिंकार गर्दै झिझिया नृत्य गरेको शायद कमैले सुनेको होला र हेरेको होला।

झिझिया नृत्यको विशिष्ट पक्ष गीत हुन्। दुई प्रकारका गीतहरु प्रथम देवी स्तुति र दोस्रो बोक्सीको गाली हुन्छ। प्रथम प्रकारका गीतहरुमा भगवती दुर्गाको स्तुति वर्णन, चरित्र गाथा र सवारीको चित्रण गरिएको हुन्छ। एउटा गीतमा देवी कामाख्या जान सोह्रौ शृंगार गरी डोलीमा बसिसकेकी हुन्छिन र बत्तीसवटै कहार डोली उठाई गन्तव्यतिर लम्किरहेका हुन्छन्।

“लील रंग डालीया, सबुजे ङ्ग ओहरिया,

मैयागे भीडि गेलाह बत्तीसो कहार, कमरुआ देश मैआ कब जइहें गे…………….।”

गीतको अर्को पक्ष बोक्सीलाई गाली गर्नु हो। जनविश्वास के छ भने दसैंका बोक्सीहरु गाउँ बाहिर भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी त्यसलाई जिउँदो पारेर नांगै नाच्ने गर्छन। त्यहो बालक पनि उसैद्वारा जादु टुना गरी मारिएको हुन्छ। ब्रह्मस्थानको पछाडि श्रृंगार नगर्नू है बोक्सी। बायाँ हात आरती र दायाँ हात तरबार, नाच्दै तिमी सिमापारी गयौ, साथै गएछन, गाउँको कोतवाल र उसले देख्यो तिम्रो नांगो शरीर– “बरहमके पछुआरिए डैनियां, मत करिहें सिंगार गे बमेलेल आरती, दहिने तरुआरि गे, नचैत नचैत गेले डैनियां, सीमा ओइ पार गे सँगे सँगे गेलौ डैनियां, राजा कोतवाल गे देख लेलकौ खागै डैनियां नङ्टे उघार गे……………।”

बोक्सीलाई गाली मात्र गरिंदैन, उसलाई धम्क्याउने काम पनि गरिन्छ। खबरदार, यदि तिमी खिडकी पछाडिबाट टुनामुना गरी दाजु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौ र नाम बदनाम गराउँछौ –

“कोठाके उपर डैनिया, खिडकी लगैले ना,

खिडकी ओत्ते डैनिया, गुनावा चलैले ना,

आगे किछु होएतौ डैनिया, गदहा पर चढैवौ

गदहा चढाए डैनियां नमुहां हसैबौ ना…………..।”

समाजमा बोक्सीप्रति घृणा भाव कति प्रबल हुन्छ, त्यसको एउटा सानो उदाहरण यो झिझिया गीतमा हेरौं।

“डैनिया बेटा मरल पडल है,

अन्हार घर झिझडी

कोइ नै बाँस कटबैया है

अन्हार घर झिझडी……………..।”

घरमा बोक्सीका छोरा मरेको छ, बाँस काटने सम्म कोही छैनन……………..। झिझिया गीतको एउटा अर्को पाटो पनि छ, र त्यो मनोरञ्जनात्मक र व्यङ्ग्यात्मक शैलीको पाटो हुन्छ। झिझिया नृत्य देखाउँदै गाउँका भद्रभलादमी कहाँ जाँदै गर्दा पूर्णाहुतिको लागि चन्दापनि माग्ने चलन छ। नगद, अन्न र मट्टितेल। दलानमा पुग्दापुग्दै गीत गाउनेहरु गाउँछन–

“जाबे भैया सुनलनि, झिझियाके अबैया

ताबे भैया ठोकलनि केवार…………………..।”

अर्थात् जब झिझिया टोली आउने सुइँको दाइले पाउनुभयो आफनो घरको ढोका बन्द गर्नुभयो। यस स्थितिमा घरपट्टि अवश्य पनि कोही न केही चन्दा दिने गर्छन्। त्यस्तै– “एक डिबिया तेलला झिझिया रुसल जाइ छै, दू महला के कोन सिंगार…………………………………।”

अर्थात् एउटा दियो बराबर तेल दिन नसकेपछि झिझिया ठुस्सिएर फर्कदै गइरहेकोमा यो घरको के अर्थ। भोजपुरी लोकगीतमा स्थानीय सामाजिक जीवन, चाहना नारी शोषण र उत्पीडन मायाप्रीतिको आभासको साथसाथै सामाजिक कुरीतिप्रति व्यंग्यात्मक प्रहार भएको पाइन्छ।

चलरे चल डाइन ओही वरम्हता

तोरे वेटवो खैलो वरम्हता,

चल रे चल डाइन ओही वरम्हता

तोर भतराके खैवो ओही वरम्हता।।

चलरे चल..

समाजमा प्रचलित यो झिझिया गीतले सामाजिक अन्धविश्वासलाई प्रस्ट पारेको छ। यद्यपि, गाउँटोलका महिलाहरुले आफ्नो पारिवारिक शान्तिको कामना गर्दै हिन्दूहरुको महान चाड दशैंताका झिझिया नाच नाच्ने परम्परा रहेको छ। विशेषगरी बोक्सी तथा अन्य भूतप्रेतबाट दुःख कष्ट पाउन नपरोस् भन्ने कामना गर्दै झिझिया गीतगाउने गरिन्छ। परम्परागत लोकविश्वासमा आधारित कैयौँ यस्ता लोकगीतहरु विलीन हुने तरखरमा रहेका हुन। सामाजिक संस्कारमा रहेकेा अन्धविश्वासका प्रतिछाया दर्शाउने यस किसिमका लोकगीतलाई समेत संस्कृतिका दृष्टिले जगेर्ना गर्नुपर्ने राय लोकसंस्कृतिप्रेमीहरुको रहेको पाइन्छ।

शिक्षक.विश्वनाथ यादव लोक संस्कृतिको जिवन्त प्रस्तुती झिझिया नृत्य संस्कृतिको निरन्तरता कि अन्धविश्वास उखेल्न गाह्रो भएको बताएको छ। उनले कलालाइ रुपान्तरण गर्ने आवश्यकता रहेको बताएको छ।

ब्यापक संख्यामा जमा भएका मानिसहरुको भीड झिझिया नृत्यको रमझम लिइरहेका छन। यति मात्र कहा हो र झिझिया नृत्य हुन्छ भनी सुनेर भारतबाट पनि मानिसहरु महोतरीको मटिहानी आएका छन भारतको सितामढी घर भएकी बबिता देवी मण्डलले बताईन।

जमा भएका भिडले झिझिया नृत्यलाइ मात्रै मनोरञ्जनका रुपमा लिने गर्छन। वास्तवमा नृत्य प्रदर्शन गर्ने कला पनि हेर्नेयोग्य हुन्छ। ४/५ वर्षका बालबालिकादेखि लिएर तरुणी र अधबैसेंसम्म यस नृत्यमा सहभागि हुने गर्छन। आयोजक श्रीलाली गुरांस युवा क्लवका अध्यक्ष चन्द्रशेषर प्रसादले मिथिलाको लोकनृत्यलाइ जिवन्त राख्न मात्रै झिझिया नृत्यको आयोजना गरेको बताउछन।

उनका अनुसार टाउकोमाथि राखिएको घैटों र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैंमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो। खासगरी यसरी नृत्य गर्दा बोक्सीहरुको शक्ति क्षीण हुन्छ भन्ने जनविश्वास छ। नृत्यको बेलामा बोक्सीलाइ सक्दो गाली गरिन्छ।

गाली गरेकेा आवाज आउछ भने राख्नुहोला सुन सुन गे डैनिया कदमतर तोडा बेटाके खेबौ ब्रम्हतर  बोक्सीलाइ आधार मानेर यस संस्कृतिलाइ निरन्तरता दिनु अन्धविश्वास बाहेक अरु केही मान्न नसकिने भन्नेहरुको पनि कमी छैन्। तर झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाइ रुपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढदा झिझिया नृत्य अझै लोकप्रीय र समाजले त्यसबाट केही लिनसक्ने  साहित्यकार एवम् पत्रकार रमेश रञ्जन झा ले बताएको छ।साभार : सेतोपाटि

तपाईको प्रतिक्रिया