ck raut karyakarta
इनरुवा चैत्र १८/

राष्ट्रिय अखण्डता विरोधी गतिविधीमा संलग्न सिके राउत समूहका सुनसरी संयोजक भनिने देवराम यादव पक्राउ परेका छन् ।
राष्ट्रिय अखण्डता विरोधी गतिविधीमा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत समूहका सुनसरी संयोजक रही गतिविधी संचालनको आरोप लाग्दै आएका यादवलाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
लामो समयदेखी प्रहरीको खोजी सूचिमा रहेका यादवलाई विशेष सुराकीका आधारमा इनरुवा बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेका यादव उपर सुनसरी प्रहरीले म्याद थप गरी अनुसन्धान अघि बढाइसकेको छ ।
सुनसरीको भोक्राहा ५ घर भएका यादवको घरबाट सुनसरी प्रहरीले गएको भाद्र महिनामा छापा मारी पेस्तोल सहित बम बनाउन प्रयोग हुने सामाग्री लगायत फेला पारेको थियो ।
पक्राउ परेका यादवको सिके राउत समूहमा संलग्नता बारे अनुसन्धान जारी रहेको बताउने सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेल प्रहरीले उनलाई हतियार मुद्धाका फरार व्यक्तिका रुपमा पक्राउ गरिएको बताउँछन् । थप विवरण अनुसन्धानको क्रममा खुल्दै जाने उनले बताए । पक्राउ परेका यादव मधेश आन्दोलनका क्रममा लौकही क्षेत्रबाट मोर्चाको अग्रपंक्तिमा रही आन्दोलन चर्काउने कार्यमा अग्रणी रहँदै आएका व्यक्ति हुन् ।
सद्भावना पाटी संग आवद्ध रहेका यादवलाई सुनसरीमा सिके राउतको जिल्ला संयोजक रही गतिविधी संचालनमा ल्याउने समूहका नाइकेको आरोप लाग्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया