सन्तोष पटेल, वीरगंज, १ कार्तिक । संघीय समावेसी मधेशी मोर्चा पर्साका मोर्चा संयोजक शरीफ अहमदले बन्दको अवज्ञा गरेर कालोबजारी नगर्न चेतावनी दिएका छन् । मोर्चाले वीरगंजमा आईतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता अहमदले बन्दीको मौका छोपी कालोबजारी गर्ने र खाद्यान्न एवं पेट्रोलियम पदार्थ काठमाडौं पठाउने व्यक्ति वा समूहलाई तत्काल सो कार्य नरोके मोर्चाले कडा कारवाही गर्ने चेतावनी दिएका छन् ।

sanghiya-samabeshi-morcha

उनले जारी मधेश आन्दोलनमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिँदै आन्दोलन उत्कर्षमा पुगिरहेको बेला केही गलत तत्वले आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाए । मोर्चाले संचालन गरेको हस्ताक्षर अभियानमा २ लाख भन्दा बढी मधेशप्रेमी जनताले हस्ताक्षर गरिसकेको उनले जनाएका छन् ।

मोर्चाका नेता शशिकपुर मियाँले मधेश आन्दोलनको क्रममा मिडियाले प्रभावकारी भूमिका नखेलेको भन्दै समाजप्रति जिम्मेवार भएर भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

जारी आन्दोलन मधेश केन्द्रित दलको मात्र नभई आम मधेशीको आन्दोलन भएको उनको भनाई थियो ।

मोर्चाका नेता एवं रामसपाका केन्द्रिय सदस्य राजेशमान सिंहले सत्यतथ्य समाचार संप्रेशन गर्न पत्रकारहरुलाई आग्रह गरेका थिए । वीरगंजका केही व्यापारीले आन्दोलनको मौका छोपी प्रशासनको मिलेमतोमा कालोबजारी एवं आन्दोलनलाई बदनाम गर्न चलखेल भइरहेको बताउँदै त्यस्ता कदमहरु सम्बन्धित निकायले नसच्याए कडा कारवाही गरिने बताए ।

नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य एवं मोर्चाका नेता शिव पटेलले राजधानीबाट संचालित केही संचारमाध्यमहरुले मधेश आन्दोलनलाई बदनाम गर्ने चलखेल गरिरहेको आरोप लगाए । उनले मिडियाले सरकारको प्रवक्ताको भूमिका निर्वाह गरिरहेको बताउँदै मधेश आन्दोलनको सत्यतथ्य समाचार संप्रेसन गर्नुको साटो आन्दोलन तुहाउने षड्यन्त्रमा लागेको भन्दै आपत्ति जनाएका थिए ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राजकुमार यादवले मिडियामाथि समाजले विश्वास राख्ने स्मरण गराउँदै सत्यतथ्य समाचार संप्रेसनतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा संघीय समावेसी मधेशी मोर्चाका नेताहरु महाराज यादव, महमद कदम रसुल, छोटेलाल यादव, प्रेमबाबु पटेल, अनुरुद्ध सिंह, नन्दन यादव, प्रमोद सिंह, उमेशलाल सहनी, मस्तकिम अंसारी, नुरुआलम अंसारी, चन्द्रभुषण साह, किसोरी यादव, कृष्णा प्रसाद कुर्मी, ईश्वरचन्द यादवलगायत मोर्चाका अगुवा नेताहरुको सहभागिता रहेको थियो ।साभार : हुलाकि न्युज

तपाईको प्रतिक्रिया