saptari peda pasal barmajhiya
यता ‘बुढो बाजे’, उता पनि ‘बुढो बाजे’।
यता ‘असली’, उता ‘उही पुरानो’।
सप्तरी पुगेपछि राजमार्गसँगै लम्बिएको प्रसिद्ध पेडा बजारमा एकछिन जो पनि अलमलिन्छ। लगभग उस्तै नामका झन्डै ४० वटा पेँडा पसल छन्। हामी अन्दाज लगाउँदै छठुकुमार गुप्ताले चलाइरहेको ‘असली बुढो बाजेको पेडा भण्डार’ मा थामियौं। आखिरमा यो पनि असली होइन रहेछ।
‘तपाईंहरूले खोज्नुभएको पसल यो होइन,’ साइनबोर्डमा झुक्याउने जानकारी लेखे पनि छठुकुमारले झुठोचाहिँ बोलिहालेनन्, ‘असली बुढो बाजेले खोलेको पसल त अझै अलिक पर सशस्त्र प्रहरीको ब्यारेक छेवैमा छ।’
‘साइनबोर्ड चाहिँ किन झुक्याउने राखेको त?’
छठुकुमार केही बोलेनन्। बरु उनकै पसलमा अघिदेखि चिया पिउँदै बसिरहेका एक वृद्ध उत्तर दिन तम्सिए।
‘हिजोआज सबैतिर सबै जना बाघको छाला ओढेर खेत खाइरहेका छन्,’ गर्दनमै लठ्ठी अड्याएका वृद्धले भने, ‘यो बेचारा पेडावालाको मात्र के कुरा गर्नुहुन्छ?’
बूढा मान्छेको कुरागराइ रोचक लाग्यो। पेडाका निम्ति परको अर्कै पसल प्रसिद्ध भए पनि यो पसलको चिया भने असाध्यै मिठो हुने उनले ठोकुवा गरे। हामी चिया अर्डर गर्दै उनीतिरै केन्द्रित भएर गफिन थाल्यौं।
७८ वर्ष उमेरमा पनि उत्तिकै रौसे देखिने बूढा बाले नाम मंगल झा बताए। ‘उसो त मेरो नाम कृतानन्द झा हो,’ उनले प्रस्ट पारे, ‘तर, गाउँलेहरू मंगल भनेपछि मात्र चिन्छन्।’
 saptari peda pasal barmajhiya1
सप्तरीको कञ्चनपुर आसपास आफू प्रसिद्ध रहेको उनले बताए। ‘कुनै जमानामा मैले हात उठाएको भरमा प्रधानपञ्च जित्थ्यो,’ उनले आँखा रसिलो पार्दै भने, ‘हिजोआज कसले कसलाई मान्छ?’
मंगल झालाई गाउँमा हिजोआज चलिरहेका गतिविधि अनौठो लाग्न थालेको छ। जहिले पनि आन्दोलन, जहिले पनि झैझगडा।
‘अस्ति महिनौंसम्म बन्द गरिदियो, जुलुस निकाल्यो,’ उनले भने, ‘केको निम्ति यो सबै भयो थाहै पाइएन।’
मंगल झाले यो बताइरहँदा पसले छठुले आफू पनि गाउँलेहरूकै दबाबमा दुईपटक कोसी ब्यारेजसम्म जुलुस गएको सुनाए। त्यो अवधिभरि राजमार्गसँगै व्यापार ठप्प भएर सबैले दुःख पाएको उनको गुनासो थियो।
‘पहिले गाउँमा पैसा थिएन, लेकिन मानिसको इज्जत थियो,’ मंगलले भने, ‘हिजोआज मानिस सब छोडेर पैसा कमाउन थाले, तर इज्जत पैसा कमाउनेको पनि छैन।’
कसैले कसैको कुरा सुन्न छाडेर हुलमुल बढेपछि अनेक बेथिति भित्रिएको उनले सुनाए।
‘उपर उपर बाबाजी
भितर भितर दगाबाजी’
उनले स्थानीय स्तरमा प्रचलित यो भनाइ सुनाएर सामाजिक चित्रण गर्न खोजे।
हामीले मंगल झासँग मधेसी समाजमा व्याप्त कुप्रथाबारे जिज्ञासा राख्यौं। ‘दहेजको यति साह्रो विकृति पहिले थिएन,’ उनले ठोकुवा गरे, ‘यो पचास वर्षयता भित्रिएको हो।’
आफ्नै परिवारमा सगोलका १४ जना छोरीको बिहे गर्न ३६ बिगाहा जग्गा बेच्नुपरेको दुःखेसो उनले पोखे। छोरीहरूको बिहे गर्नुपरेकै कारण आफ्नो परिवार टाट पल्टेको उनले सुनाए। उनका छोरा दूरसञ्चारका जागिरे रहेछन्। अहिले झापातिर पोस्टिङ रहेको बताए।
मंगल झाका अनुसार यो ठाउँमा निकै पहिलेदेखि ठूलो मात्रामा भैंसीपालन चल्दै आएको छ। दूधको कमी कहिल्यै भएन। पछिल्लो समय त पेडाको निम्ति प्रसिद्ध भएपछि आफ्नो क्षेत्रले मुलुकभरि पहिचान पाएकोमा उनलाई गर्व लागेको छ।
‘पेडाकै निम्ति गाउँको दूधले मात्र नपुगेर हरेक बिहान गाईघाटदेखि ओसार्ने गरिन्छ,’ उनले थपे, ‘दैनिक चार हजार लिटर दूध त पेडामै जान थालेको छ।’
उनका अनुसार गाउँकै रघु बहरखेर कुनै समय भैंसीपालनका निम्ति प्रसिद्ध थिए। दस वर्ष पहिलेसम्म रघुका नौ सयवटा दुहुना भैंसी थिए। हिजोआज उनको नातिले यो परम्परालाई निरन्तरता दिएका छन्। भैसींको संख्या भने घटेर ५–६ सय आसपास सीमित बन्न पुगेको छ।
‘कोसी टप्पुमा बथानका बथान चर्ने गरेको भैंसी उनीहरूकै हो,’ मंगलले भने, ‘कहिलेकाहीँ कोसी ब्यारेजसँगै राजमार्ग छेउछाउ पनि चरिरहेको देखिन्छ।’
चिया सकिनेबित्तिकै हामी विदा हुनेतिर लाग्यौं। यत्रो बेर कुरा गरिसकेका मंगल फेरि पनि हामीलाई पछ्याउन थाले। ‘तपाईंहरू असली बुढाको पेडा पसल खोजिरहनुभएको थियो,’ उनले भने, ‘हिँड्नुस् म देखाइदिन्छु।’
मंगलले भनेकै ठाउँमा हामी फेरि रोकियौं। उतातिर राजमार्गसँगै टाँसिएको ब्यारेक छ। यतातिर ठूलो साइनबोर्डमा लेखिएको छ– ‘श्री बैजनाथ साह पेडा भण्डार, महादेवपट्टी चोक, सप्तरी’।
हामी सरासर भित्र गयौं। बैजनाथ साहको २०६९ साउनमा निधन भइसकेको रहेछ। परिवारका बाँकी सदस्यले पसल चलाइरहेका रहेछन्। चौथो पुस्तामा चलिरहेको यो पसल अकल साहले सुरु गरेका हुन्। यहाँ पेडा भित्र्याएको भने उनका छोरा बैजनाथले हो। बैजनाथका दुई छोरा छन्, जेठा जयराम र कान्छा राजकुमार।
दुवै छोरा मिठाइ व्यवसायमा छैनन्। जेठा जयराम मोरङमा खेती गर्छन् भने कान्छा राजकुमार छेवैको निजी स्कुलमा प्रिन्सिपल छन्। राजकुमारका छोरा विवेक साहले पुस्तैनी पेसालाई निरन्तरता दिइरहेका छन्। उनलाई आफैं पनि पेडा बनाउन आउँछ।
बैजनाथकी श्रीमती जगेश्वरी साह बिहे गरेर आउँदा बच्चै थिइन्। श्रीमान्को मिठाइ पसल थियो। पेडा बनाउने चलन भने थिएन। त्यतिबेलै उनका श्रीमान् कुनै काम विशेषले सुनसरीतिर गएका थिए। त्यहाँबाट फर्किएर आएपछि नै पेडा बनाउन थालेको उनले सम्झिइन्।
सुनसरी पुगेका बेला कुनै मिठाइ पसलमा पेडा बनाएको देखेपछि बैजनाथले यो परिकार यहाँ भित्र्याएका रहेछन्। दूधलाई घोटेर पेडा बनाउने तरिका सजिलो थियो। ‘मैले एउटा नयाँ मिठाइ बनाउन सिकेर आएको छु, सजिलै छ,’ उनले जगेश्वरीलाई भनेछन्, ‘त्यो यहाँ बनाउन सके राम्रो चल्छ।’
बैजनाथले पेडा बनाउन थालेपछि त्यसैको देखासिकी वरपर सबैले गर्न थाले। बिस्तारै पेडा लोकप्रिय हुँदै गयो। र, हुँदाहुँदा आज यो सम्भवत: नेपालकै बढी नक्कल गरिएको ब्रान्ड बनेको छ। यसलाई लोकप्रिय बनाउनुमा गिरिजाप्रसाद कोइरालाको ठूलो गुन रहेको जगेश्वरी सम्झन्छिन्।
‘एकदिन अचानक गिरिजाबाबु यहाँ आइपुग्नुभयो,’ उनले भनिन्, ‘चिउरा र दूधको छालीसँगै पेडा खाएर जानुभयो।’ कोइरालाले यसरी स्वाद मानेर खाएपछि यो ठाउँको पेडाको चर्चा सबैतिर फैलिएको उनले सुनाइन्। ‘हुँदाहुँदा दरबारबाट पनि कुनै विशेष समारोह हुँदा यहीँको पेडा मगाउन थालियो,’ उनले भनिन्, ‘काठमाडौंमा कार्यक्रमपिच्छे ५०–६० किलो पेडा दरबार जाने गरेको थियो।’
पेडा बनाउन दूध घोटेर बाक्लो भएपछि चिनी हालिन्छ र सुकाएर राखिन्छ। त्यसपछि डल्लो पारिन्छ। दूध र चिनीबाहेक अतिरिक्त केही प्रयोग गरिँदैन। जागेश्वरीले अरू पसलमा भने पिठो पनि हाल्छन् भन्ने सुनेकी छन्।
बैजनाथ सुरु–सुरुमा आफैं दूध घोट्थे। व्यवसाय बढ्दै गएपछि कामदार राख्न थाले। ‘दैनिक ठूलो मात्रामा पेडा बिक्न थालेपछि फुर्सद पाउनै गाह्रो हुन्थ्यो,’ उनी भन्छिन्, ‘तै जीवनको अन्तिम कालसम्म चित्त नबुझेर दूध घोट्ने काम बेलाबेला आफैं गर्नुहुन्थ्यो।’
हामीले यति कुरा गर्दागर्दै विराटनगरतिरबाट आएको एउटा कार पेडा पसलको अघिल्तिर रोकियो। कारबाट उत्रिँदै गरेका मानिस यसै भेगका परिचित नेता जयप्रकाश गुप्ता (आनन्द) थिए। ‘आमा बिरामी पर्नुभएको सुनेर घर जाँदै थिएँ,’ गुप्ता भन्दै गए, ‘घरमा अलिकता पेँडा कोसेली लैजान पसेको हुँ।’
यो ठाउँले पेडाको पहिचान बनाउँदै गएपछि स्थानीय कृषक र व्यवसायीलाई लाभ मिल्न थालेकोमा उनी मख्ख थिए। ‘यो भेगको महत्व चाहिँ इतिहासदेखिकै छ,’ उनले थपे, ‘राणा शासनदेखि नै मुलुकमा पहिचान बनाएको थलो हो यो।’
गुप्ताका अनुसार चन्द्रशमशेरले आफ्नो प्रधानमन्त्रीत्व कालमा दसवटा महत्वाकांक्षी योजना लिएका थिए। त्यसमध्ये नदीमा बाँध बाँधेर सिँचाइ तयार पार्ने काम यसै भेगमा भएको थियो। मुलुककै पहिलो सिँचाइ अर्थात् ऐतिहासिक चन्द्रनहर यसै भेगमा बनेको थियो। आफ्नो जन्मथलोबारे उल्लिखित हेमबहादुर पाँडेलगायतले लेखेका इतिहासका पुस्तक उनले खोजी खोजी पढेका छन्।
‘त्यतिबेला राणाका भाइभारदार सबैको बिर्ता बारा र रौतहटतिर थियो,’ गुप्ताले भने, ‘त्यति हुँदाहुँदै आफ्नो स्वार्थलाई ध्यान नदिएर यो बेग्लै स्थानलाई सिँचाइको निम्ति छनौट गर्नुबाट चन्द्रशमशेरको विकासप्रतिको अवधारणा बुझ्न सकिन्छ।’
गुप्ताका अनुसार त्यतिबेला राणाहरूको यस भेगमा खासै उपस्थिति थिएन। बरु सेनाका केही कर्नेललाई राज्यले पर्याप्त सुविधा दिन नसकेपछि सप्तरीको यस भेगमा जग्गाजमिन दिएका थिए। उनीहरूले सुरु गरेको खेतीपातीमा सहयोग पुग्ने गरी यहाँ चन्द्रनहर बनेको थियो।
‘विकासको निम्ति कस्तो ठाउँ रोज्नुपर्छ भन्नेबारे राणाहरूको त्यतिबेलाको सोच यसबाट झल्किन्छ,’ गुप्ताले भने, ‘आफ्नो पारिवारिक स्वार्थ र राज्यको प्राथमिकताबारे बुझ्न पनि यो एउटा उदाहरण बन्न सक्छ।’
पेडा पसल छेवैमा रहेको एउटा पुरानो पहेँलो घरतर्फ गुप्ताले औंल्याए। ‘नहर बनिसकेपछि यहाँ प्राविधिकदेखि कर्मचारीसम्मको बसोबास विस्तार भएको थियो,’ उनले भने, ‘उनीहरूलाई स्वास्थ्य सेवा दिनकै निम्ति त्यतिबेलै राणाहरूले कोलकातादेखि झिकाएका डाक्टरको घर हो त्यो।’
चन्द्रशमशेरको पालामै राज्यले तीन बिगाहा जग्गा प्रदान गरेर त्यो परिवारलाई निम्त्याएको थियो। चट्टोपाध्याय नामका ती डाक्टरले दिने ‘सिवाजल’ र ‘मिक्सचर’ नामका दुई झोल औषधि खाएरै आफूहरू हुर्किएको गुप्ताले बताए। ‘केवल दुइटा औषधि भए पनि त्यसले सबै रोग निदान गथ्र्यो,’ उनी बाल्यकाल सम्झेर नोस्टाल्जिक भए, ‘सारा गाउँलेका निम्ति ती बंगाली डाक्टर देवदूत थिए।’
पछिल्लो समय पेडाकै कारण भए पनि काठमाडौंबाट ओहोरदोहोर गर्ने साथीहरूको गन्तव्य आफ्नो गाउँ बन्न पुगेकामा उनी फेरि एकपटक दंग परे। ‘म साथीहरूलाई मेरो गाउँमा एक्सपेक्ट गरिरहन्छु,’ उनले भने, ‘यसरी आफ्नो आँगनमा भेटघाट हुँदा रमाइलो लाग्दोरहेछ।’
हामी छुट्टिनै लागेका थियौं। अघिदेखि कुरा सुनिरहेका मंगल झाले मैथिली भाषामा केही भावुक अभिव्यक्ति दिँदै गुप्तालाई अंगालो मारे। गुप्ता पनि पग्लिए। ‘यी बूढा मानिस कुनै समय परपरसम्म प्रसिद्ध पहलवान थिए,’ गुप्ताले हामीतिर हेर्दै भने, ‘निकै सम्मानित यस्ता मानिसलाई यत्रो वर्षपछि तपाईंहरूसँगै भेट्न पाएँ।’
गुप्ताले यति भनिसकेपछि मंगल झालाई ख्वै के भयो, उनी आँखाभरि आँसु पारेर रुन थाले। ढल्कँदो बुढेसकालबीच कुनै महत्वपूर्ण मानिसले आफ्नो पहिचान र प्रशंसा गरिदिँदाको आनन्दमा मंगलका आँखा छचल्किएका थिए, सायद!
‘कुनै जमानामा मैले हात उठाएको भरमा प्रधानपञ्च जित्थ्यो,’ मंगलले यो त्यसै भनेका होइन रहेछन्।
साभार : सेतोपाटीबाट

तपाईको प्रतिक्रिया