modi nd kamal thapa

नयाँ दिल्ली, कात्तिक २
नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भारतले नेपालमाथि नकाबन्दी लगाएको विषयमा छलफल गरी स्थिति सामान्य पार्ने उद्देश्यले नयाँ दिल्ली पुगेका थापा र मोदीको तीनदिने भ्रमणको अन्तिम दिन सोमबार भेट भएको हो।

भेटका क्रममा करिब एक महिनादेखि जारी नाकाबन्दी खोल्न नेपालले गरेको आग्रहमा भारतीय प्रधानमन्त्री मोदीले सकारात्मक जबाफ दिए पनि कुनै आश्वासन भने नदिएको बैठकमा सहभागी सरकारी स्रोतले बतायो। उनले दुई देशबीच आवागमन सहज बनाउन भारतीय पक्ष सकारात्मक रहेको बताए। तर, कहिलेदेखि सहज हुन्छ भन्नेबारे केही खुलाएनन्। स्रोतका अनुसार भारतले अन्य नाका खोले पनि रक्सोल नाका भने तत्काल नखाेल्ने संकेत दिएको छ।

भेटघाट कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत रञ्जित रे लगायतको सहभागिता थियो। परराष्ट्रमन्त्री थापा आजै स्वदेश फर्किंदैछन्। हिजो परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षी सुस्मा स्वराजसँग र भारतीय गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटवार्ता गरेका थिए। नाकाबन्दी खुलाउन र द्विपक्षीय सम्बन्ध सामान्य पार्ने उद्देश्यले थापा शनिबार भारत गएका हुन्।

तपाईको प्रतिक्रिया