Shiva-Pd-Jamkattel-2

उद्योगपति विनोद चौधरीले आफ्नो पुस्तकमा लेखेका छन्, ‘आज दुबई महाभारतका पाण्डवहरूको ‘इन्द्रप्रस्थ’ जस्तो छ, जसलाई मानव निर्मित भन्दा आँखाले पत्याउँदैन ।’ त्यही पाण्डवहरूको ‘इन्द्रप्रस्थ’ जस्तो लाग्ने अत्याधुनिक सहरमा सयौं नेपालीहरू पसिना बगाइरहेका छन्, तिनैमध्येका एक हुन्, शिवप्रसाद जमकट्टेल । धादिङे जमकट्टेलले दुबई र आबुधाबीका चिल्ला सडकहरूमा एक्सीलेटर दबाउन थालेको करिब साढे दुई वर्ष भइसकेको छ । ‘नेपालमा करिब ६ वर्ष ट्याक्सी चलाएँ, यहाँ पनि साढे दुई वर्षदेखि ट्याक्सी चलाउँदै छु,’ शिवले कुराकानीको पोयो फुकाए । धादिङको कल्लेरीमा नाबालक छोरी, श्रीमती र बा–आमा छाडेर उनी दुबई हानिएका थिए । कल्लेरीमा बस्ने किसान परिवारको खास आम्दानी छैन । दुबईबाट आउने रेमिट्यान्सले यताको दैनिकी चलेको छ । काठमाडौंमा ट्याक्सी चलाउँदा मासिक करिब २० हजार आम्दानी गर्ने शिवले आजकाल दुबईमा करिब ६० हजार कमाउन थालेका छन् । शिव भन्छन्, ‘वर्किङ भिसामा आएको थिएँ, आएदेखि एउटै कम्पनीमा लगातार ट्याक्सी चलाईरहेको छु ।’ नयाँ ठाउँमा ड्राइभिङ सुरु गर्दा विविध समस्या झेल्नुपर्ने हुन्छ । उनले पनि दुबई ओर्लिनासाथ लाईसेन्सको समस्यादेखि ट्रान्सपोर्टेसनको नियम तथा लोकेसन थाहा नहुने समस्यालाई झेलेर अगाडि बढे । भन्छन्, ‘हामी बाहिरबाट आउनेलाई नियम थाहा नहुने हुनाले फाइन पर्ने सम्भावना पनि अत्यधिक हुन्थ्यो, अहिले सजिलो हुँदै गएको छ ।’ बेसिक स्यालरीबाहेक ट्याक्सी लाईनमा कमिसन सिस्टम हुन्छ । कम्पनीले बस्ने सुविधान दिएको छ । खानाको पैसामात्रै आफूले व्यहोर्दै आएका शिव आफ्नो कमाइप्रति सन्तुष्ट छन् । भन्छन्, ‘जति कमाइरहेको छु, कामअनुसार सन्तुष्ट नै छु ।’ दुबईको सडकसँग नेपालका सडकको तुलना हुनै सक्दैन, त्यसबाहेक सवारी नियम पनि नेपालको भन्दा दुबईको उत्कृष्ट रहेको बताउँछन् उनी । भन्छन्, ‘यहाँ कस्टुमर सर्भिस भनेपछाडि त्यतिकै महत्त्वपूर्ण हुन्छ । नेपालका कस्टमरभन्दा यहाँका धेरै राम्रा छन्, ड्राइभरलाई कसरी व्यवहार गर्ने भन्नेबारे उनीहरू सचेत छन् ।’ ‘आफ्नो भनेको आफ्नै हो’ भनेझैँ नेपालका सडकमा ड्राइभिङ गर्दा जति आत्मविश्वास पलाउँथ्यो, परदेशमा त्यो आत्मविश्वास सम्भव छैन । अलिकति गल्ती हुन पुगेमा केही हुन्छ कि भन्ने डर र त्रासका बीचमा उनी आफ्नो पसिना बगाइरहेका छन् । शिव दुबई पुगेर गाडी चलाउन थालेको करिब दुई महिना मात्र भएको थियो । दुबई र आबुधाबीतिर फर्मुलावान (कार रेसिङ) चल्दै थियो । ठीक त्यहीबेला रातको २ बजे एकजना ग्राहकले उनको ट्याक्सीको ढोका खोले । ती ग्राहकलाई आबुधाबीबाट दुबई लैजानुपर्ने भयो । बीच बाटोमा कुहिरो लागेर एक मिटर पनि देख्न नसक्ने अवस्था र रक्सीले मातेको ग्राहकसँग एकैपटक सामना गर्दै उनी दुई घन्टामा दुबई पुगे । त्यो क्षण सम्झदै उनी भन्छन्, ‘त्यतिबेलाको दुई घन्टा मलाई दुई वर्षजस्तो लागेको थियो ।’ उच्चस्तरीय मनिटरिङ सिस्टम र समस्या पर्दा सरकारी स्तरको ट्रान्सपोर्टेसन सिस्टममा म्यासेज गर्न सक्ने व्यवस्थाले गर्दा दुबईमा ट्याक्सी चलाउने शिवजस्ता धेरै चालकले एकदमै सुरक्षित महसुस गर्न सक्छन् । सानातिना समस्याले छिटफुट घटना घट्नु सामान्य हो । दुबईको सुरक्षित ड्राइभिङको व्याख्या गर्दै शिवले भने, ‘ग्राहकहरूबाट लुटिने अथवा पैसा नदिने भन्ने हुँदैन, त्यस्तो भएमा तुरुन्तै रिपोर्ट गर्न मिल्छ ।’ आरामदायी तरिकाले गन्तव्यसम्म पुर्याइदिने ट्याक्सी चालकलाई एकाध ग्राहकले टिप्स दिने गर्छन् । त्यस्ता टिप्स उनले पनि पाएका छन् । ड्राइभरलाई सम्मान दिन हिचकिचाउनेहरू नेपालमा मात्र छैनन् । दुबईका सडकहरूमा पनि आफूले त्यस्ता मान्छे भेटेको उनी बताउँछन् । भन्छन्, ‘धेरैजसो अरबियनले ड्राइभर हो, यसलाई मैले हेप्दा पनि हुन्छ भन्ने खालको व्यवहार गरेको पाउँछु । यहाँका स्थानीय र अरु विदेशीले त्यसो गर्दैनन् । यमन, मोरक्को र प्यालेस्टाइनका ग्राहकचाहिँ दुई मिनेट भने पनि ट्याक्सी ड्राइभरलाई टेन्सन दिने खालका हुन्छन् ।’ तर, ग्राहकले जति टेन्सन दिए पनि शिव रिसाउँदैनन् । भन्छन्, ‘ड्राइभरले रिस कन्ट्रोल गर्न सक्नुपर्छ, ड्युटी नै यस्तै हो भनेर चित्त बुझाउँछु ।’ नेपालमा अवसर नपाएपछि परदेशमा पसिना बगाइरहेका शिव फेसबुक र ट्विटरमार्फत नेपालको राजनीतिक घटनाक्रमबारे अपडेट हुन्छन् । नेपालको सडकमा ड्राइभिङ गर्दा उनले जति हैरानी खेप्थे, दुबईमा त्यसबाट छुटकारा पाएका छन् । कहिलेकाहीँ टायर पन्चर हुने समस्याबाहेक अन्य हैरानी उनले नखेपेको लामो समय भइसक्यो । गाडी लाइनमा लागेको लामो समयमा केही प्राविधिक ज्ञान हासिल गरेका शिव सामान्य समस्या आफैं हल गर्छन् ।

Shiva-Pd-Jamkattel-3 ठूलो समस्या परे कम्पनी छँदै छ । ट्याक्सी चालक सार्वजनिक सेवाको पेसा भएकाले अन्य आठघन्टे ड्युटीवाला पेसा भन्दा लामो समय काम गर्नुपर्छ । लङ टाइम ड्युटीका कारण शरीर दुख्ने लगायतका समस्याले सताउन थालेपछि शिव यो पेसा छाड्ने मुडमा छन्, तर विकल्प छैन । भन्छन्, ‘नेपालमै दोस्रो अवसर वा सानोतिनो बिजनेस गर्न सक्ने वातावरण बनेमा छाड्छु होला ।’ शिवले स्टेरिङ समातेको सन् ९२७४ नम्बरको ट्याक्सी कम्पनीले निश्चित सर्तहरु राखेर उनलाई चलाउन दिएको हो । उनले दिनभरिमा जति पैसा उठाउँछन्, त्यो पैसा कम्पनीमा लगेर बुझाउनुपर्छ । चालकको थोरै गल्तीले गाडी ठोक्किएमा कम्पनीले फाइन लिने लगातयका पचासौं नियममा बाँधिएका जमकट्टेल सिटबेल्ट बाँधेसँगै आफ्नो ध्यान सडकमै केन्द्रित गर्छन् । अनि, उनको कामअनुसारको कमिसन न्यूनतम तलबमा जोडिन्छ, जुन रेमिट्यान्सको रूपमा धादिङको कल्लेरीसम्म पुग्छ । विदेशमा बसेर चुनौतीपूर्ण पेसा अंगालेका शिव दुर्घटना भइहालेमा पाउने क्षतिपूर्ति र क्लेम गर्ने तौरतरिकाबारे अनभिज्ञ छन् । गाडीको इन्सुरेन्स हुनेहुनाले त्यसकै आधारम क्षतिपूर्ति पाउन सक्ने अनुमान गर्दै उनले भने, ‘क्षतिअनुसारको सबै कुरा पाइन्छ जस्तो लाग्छ, तर सबै कुराको जानकारी छैन ।’ ट्याक्सी नम्बर ९२७४ मा प्रायः फिलिपिन्स, दुबईलगायत देशका मानिस चढ्ने गर्छन् । तीमध्ये हाई प्रोफाइल भएको कुनै व्यक्तित्व चढेको उनलाई याद छैन । ‘एकपटक एक खेलाडी चढेका थिए, उनी इटालीको व्यावसायिक फुटबलर हुँ भन्दै थिए,’ शिवले भने । दुबई र आबुधाबी सहरमा छोटोदेखि लामो दूरीमा समेत सेवा दिँदै आएका शिवसँग पटक–पटक पाँच सय किलोमिटरभन्दा लामो दूरीको सर्भिस दिएको अनुभव छ । परिवारलाई कल्लेरीमा छाडेर दुबईमा पसिना बगाउनु शिवको बाध्यता हो । तर, परिवारका सदस्यले उनलाई बेलाबेला टेलिफोन गरेर ‘यतै आए हुन्थ्यो’ भन्ने भाव व्यक्त गर्छन् । ‘नबस्नु, यहीँ आउनु नेपालमै केही गर्नुपर्छ भन्छन् तर आफ्नो बाध्यता छ,’ शिवले परिवारसँगको टेलिफोन वार्तालाप सम्झिए । कहिलेकाहीँ नेपाल गएर सानोतिनो व्यवसाय सुरु गर्ने विचार उनको मनमा नआएको पनि होइन्, तर मुलुकको अस्थिरताले फेरि उनी यतै पसिना बगाउन बाध्य छन् । भन्छन्, ‘हाम्रो देशको अशान्ति, अस्थिरता र सधैँको आन्दोलन देख्दा मन मरेर आउँछ ।’ गरिबको संरक्षण गर्ने कानुन बनोस् नेपालमै अवसर पाएको भए उनी बिदेसिने थिएनन् । नेपालमा रोजगारीको ग्यारेन्टी र सुरक्षाको व्यवस्था भएमा दुबई छाडेर नेपाल फर्कने सोचमा रहेका शिव भन्छन्, ‘यहाँ ६० हजार कमाउनुभन्दा नेपालमा दिगो पेसा गरेर मासिक २५ हजार कमाउन सक्ने वातावरण बनेमा आफ्नै देशको माटोलाई रोज्ने थिएँ ।’ फेसबुक, ट्विटरमार्फत संविधान बनेको जानकारी पाएका शिव नेपालमा राम्रा कानुन बनेको हेर्न चाहन्छन् । जादुको छडीजस्तो एकैपटक विकास सम्भव नभए पनि गरिबको संरक्षण गर्ने खालको कानुन बन्नुपर्ने उनी बताउँछन् । भन्छन्, ‘नयाँ संविधानसँगै देश विकासको बाटोमा अगाडि बढोस्, हामीजस्ता युवाले अब नेपालमै फर्केर रोजगारी पाउने वातावरण बनोस् ।’ साभार : रातोपाटी

तपाईको प्रतिक्रिया