३० चैत्र। ओखलढुंगाको रानीवन र सिंहदेवी गाविसमा १० दिन अघि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागिबाट अहिलेसम्म सिंहदेवी गाविसका १७ घर जलेर नष्ट भएका छन् । १० दिन देखी रानीवनबाट सुरु भएको आगो नियन्त्रण हुन नसक्दा सिंहदेवी गाविस गाविस ३ चिउरीडाँडाको खड्का बस्ती जलेर खण्डहरमा परिणत भएको छ । हिजो एक घर जलेकोमा आज १६ घर जलेर पूर्ण रुपमा क्षति भएको छ ।

सिहंदेबीको नौबिसे चिउरीडाँडाबाट सल्केको आगो पँहेले र सुगुरे सामुदायिक वन हुँदै गाउँमा पसेको थियो । सिंहदेवीका पाँच र रानीवनका तीन सामदाायिक वन जलेर सकिएपछि आगो वस्तीमा प्रवेश गरेको स्थानीय पुजन खड्काले जानकारी दिनुभयो । आगो लागेर एक हजार पाँच सय हेक्टर वन सखाप भएको अनुमान गरिएको छ । डढेलोले रानीवन गाविसका लक्ष्मीटार, राजदेवल, विमिरे लगायतका सामुदायिक जलेका छन् ।

आगोलागी पीडितहरु खुल्ला आकाश मुनि बस्न बाध्य भएका छन् भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अन्य गाउँलेहरुलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेका जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी दिपेन्द्र शाहले जानकारी दिनुभयो । जनशक्ति अभावमा आगो नियन्त्रणमा आउन नसकेको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगोले पसलटार लघु जलबिद्युत आयोजनाको प्रसारण लाइन पनि पूर्ण रुपमा क्षति पुर्याएपछि आपूर्ति अवरुद्ध भएको स्थानीय शिक्षक विनोद विकले बताउनुभयो । जिल्लास्थित सुरक्षा निकाय विच प्रभावकारी समन्वय नहुँदा सेनासहितको संयुक्त सुरक्षा टोली परिचालन हुन नसकेको बताइएको छ

तपाईको प्रतिक्रिया