१० वैशाख, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालित एक कन्सलट्यान्सीका सञ्चालकले १५ जना युवालाई जापान पठाइदिने भन्दै मोटो रकम ठगी गरेको खुलासा भएको छ । बिर्तामोडस्थित भद्रपुर रोडमा सञ्चालनमा रहेको फास्ट ट्रयाक एजुकेशन कन्सलटेन्सी प्रालिले झापा, इलाम र पाँचथरका युवाबाट जनही २ लाख ५० हजार रुपेयाँका दरले ३७ लाख ५० हजार रुपैयाँ ठगी गरेको रहस्य खुलेको हो ।

फाष्ट ट्रयाकले वर्किङ्ग भीषामा जापान पठाइदिने भन्दै मोटो रकम असुलेको गोप्य सूचना आफूहरुलाई आएपछि युवासंग नेपाल झापाको टोलीले कन्सलट्यान्सीमा पुगेर व्यवस्थापक राजकुमार कार्कीसंग स्पष्टिकरण लिएको संघका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो । सो क्रममा कार्कीले आफूले अवैधानिक रुपमा रकम असुलेको स्वीकारेको अध्यक्ष सापकोटाको भनाई छ ।घट्नाको जानकारी पाएपछि सञ्चारकर्मीको टोली कन्सलट्यान्सी पुगेको थियो । तीन महिनादेखि बाहिर हल्ला नगर्ने शर्तमा आफूले युवाहरुसंग रकम उठाएको सञ्चारकर्मी समक्ष स्वीकारेका छन् ।

Jhapa-japan thagi

जापानमा काम गर्ने भीषा उपलब्ध गराइ दिने भन्दै पैसा उठाएपछि आफूहरु सोधपुछका लागि यहाँ आएका थियौ, पैसा फिर्ता गर्ने कुरा नगरेपछि उहाँको थप वैधानिकता खोजियो, उहाँले मनोमानी पैसा उठाएको पाइयो – संघका अध्यक्ष सापकोटाले भन्नुभयो ।

फाष्ट ट्रयाक कन्सलट्यान्सी परामर्शका लागि शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त संस्था हो तर वर्किङ्ग भिषाका लागि काम गर्ने आधिकारीक संस्था भने होइन – सञ्चालक कार्कीले भन्नुभयो । ‘प्रक्रियागत रुपमा रकम उठाउन मैले गल्ती गरे ’ कार्कीले भन्नुभयो – उठाएको रकम म संग छैन जापान पठाइदिने एजेन्टले लगेका छन् उनीहरुले पैसा मलाई नदिएपनि म सबैको पैसा फिर्ता गर्छु ।

आफूले चुडामणि सिटौला, ऋषि ओली, विजय विष्ठ, सञ्जय धिमाल, वसन्त खरेल , प्रदीप थापा, नारायण राजवंशी, खेम खतिवडा, सञ्जय तामाङ, जीवनकुमार घिमिरे, विक्रम थापा, ज्योनि चुडाल , दीपक मेचे, सरोज वराल र हिमाल गड्तौलाबाट रकम लिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया