mausami institute

१४ वैशाख, नरेन्द्र बस्नेत बेलबारी । बर्षभरि कहिँकतै नाम नै नसुनिएका र गुपचुप बस्ने अनि एसएलसी परिक्षा सकिने बित्तिकै तिनै बिद्यार्थीहरुलाई लक्षित गरेर केही मौसमी कम्युटर इन्स्टिच्युटहरुले यतिबेला पुर्बमा बजारहरुमा लुटधन्दा चलाईरहेका छन ।कहिँ कतै दर्ता नभएका त्यस्ता कम्प्युटर तथा ल्याङग्वेज इन्स्टिच्युटहरुले यतिबेला पुर्बका बिभिन्न बजारहरुमा आकर्षक बिज्ञापन समेत गरेर हुँदै नभएको सेवा सुबिधाको प्रलोभन बिद्यार्थीलाई देखाएर ब्रम्हलुट मच्चाईरहेका छन । कुनै पनि संस्था संचालनका लागी दर्ता अनिबार्य भएपनि बिना दर्ता नै कतिपय इन्स्टिच्युटहरुले यस्तो ठगीधन्दा गरिरहेका छन ।

बढीमा ३ महिना सम्म सञ्चालन गर्ने र त्यसपछि ९ महिना गुमनाम हुने त्यस्ता इन्स्टिच्युटहरुले अबोध बिद्यार्थीको भबिश्यमाथि चरम खेलवाड गरिरहेका छन । बिद्यार्थीलाई राम्रो पढाई हुने प्रलोभन देखाएर लुटधन्दा मच्चाउने त्यस्ता इन्स्टिच्युटहरु बिना दर्ता नै सञ्चालन भईरहेका छन ।बेसिक समेत राम्ररी नजानेका कम्प्युटर शिक्षकहरु राखेर ती इन्स्टिच्युटहरुले लुट धन्दा चलाईरहेका छन । कम्प्युटरको साथमा फरर अंग्रेजी बोल्न सिकाउने,लगायत दर्जनौका सेवा सुबिधाहरु भएको पोष्टर जताततै टाँगेर उनीहरु बिद्यार्थी आर्कर्षित गरिरहेका छन । कतिसम्म भने कोरियन भाषा सिकाउन खोलेको एउटा भाषा केन्द्रको बिज्ञापनमा माथि उल्लेख गरिएका सबै सेवा सुबिधा सहित आरजे र भिजेका कोर्षहरु समेत सिकाईन्छ भनेर उल्लेख गरेको पाईएको छ ।

के उद्धेश्यका लागी इन्स्टिच्युट खोलिएको हो भन्ने कुरा समेत प्रष्ट नभएका उनीहरुले मौसमी ब्यापार गरिरहेका छन । बिना दर्ता सञ्चालित त्यस्ता संस्था यतिबेला छयापछयाप्ती बजारमा देखिन थालेका छन । आकर्षक बिज्ञापनको भरमा अभिभाबकहरु त्यस्ता अबैधानिक इन्स्टिच्युटमा बिद्यार्थी भर्ना गर्न बाध्य भएका छन । अभिभाबकहरुले पनि अब त्यस्ता बिषयमा सचेत भएर इन्स्टिच्युटको बारेमा पुर्ण रुपमा जानकारी लिएर मात्र बिद्यार्थी भर्ना गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया