अमर काफ्ले, बैशाख २५ इनरुवा /लामो समयको पखाई पछि इनरुवावासीको रङ्गशाला निर्माणको सपना साकार हुने संकेत देखा परेको छ ।
इनरुवा स्थित पुरानो जेल मैदान पुगेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले आज एक औपचारिक कार्यक्रमकावीच रङ्गशाला निर्माण कार्यको शिलान्यास गरेका छन् ।पटक पटकको विवाद अनि आन्तरिक कारणले रङ्गशाला निर्माणको कार्य अघि बढ्न नसकिरहेको परिपेक्ष्यमा इनरुवा नगरपालिकाकाको कार्यालयले रङ्गशाला निर्माणलाई गौरभशाली योजनामा समावेश गरि आवश्यक पहल अघि बढाएपछि पछिल्लो उपलब्धी हात लागेको जानकारहरु बताउँछन् ।
यसअघि नेपाल सरकारको नाममा रहेको जेल फिल्डको हकभोकको अधिकार जिल्ला विकास समितिमा रहेको थियो । जिविसको कार्यालयले स्थानीयको पहलमा रङ्गशाला निर्माणको पहल अघि बढाएपनि सफल हुन भने सकेको थिएन् ।जिविसबाट मैदान निर्माण, प्रयोग र व्यवस्थापनको जिम्मेवारी इनरुवा नगरपालिकामा हस्तान्तरण भएसँगै अधुरो र अपुरो इनरुवावासीको रङ्गशाला निर्माणको सपना अब भने अघि बढ्नेमा स्थानीयवासी समेत आशावादी देखिएका छन् ।
३ विगाह १५ कट्ठा १२ धुर जग्गा रहेको जेल मैदानमा १० हजार क्षमताको प्याराफिट, कबर्ड हल, मंच र शौचालय सहितका आवश्यकिय पूर्वाधार निर्माणको काम २ वर्ष भित्र पुरा गर्ने योजना अघि सारिएको छ ।
सीताराम मेहता सांसद विकास कोष र राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त ३० लाखको रकमबाट पूर्वाधार निर्माणका लागि संरचना तयारीको कार्य थालिएको छ । जसका लागि स्थानीय दाताहरुले समेत सहयोगको प्रतिवद्धता जनाउने क्रम जारी छ । नपाले पुरानो जेल भवन भत्काउ थालिसकेको छ ।शिलान्यास पछि बोल्दै सदस्य सचिव विष्टले पटक पटकको प्रयास पछिको पछिल्लो पहलले इनरुवावासीको सपना साकार बनाउने विश्वास दिलाए । उनले आफुले केन्द्रिय तहमा पहल अघि बढाइसकेको बताउँदै २ वर्ष भित्र इनरुवावासीले सुविधा सम्पन्न रङ्गशाला पाउने दावी गरे ।
त्यसैगरी इनरुवाका कार्यकारी अधिकृत रामचरित्र मेहताले रङ्गशाला निर्माण सम्पन्न गर्नु आफ्नो प्रमुख चुनौति र दायित्व रहेको बताउँदै गौरभशाली योजनाको सफल कार्यान्वयनको पाटोमा इनरुवामा रङ्गशाला निर्माणको कार्य महत्वपूर्ण र प्रभावकारी सावित हुने बताए । उनले पूर्वाधार निर्माणका सवालमा कुनैपनि चुक हुन नदिने प्रतिवद्धता जनाउँदै साथ र सहयोगका लागि सवैमा आग्रह समेत गरे ।सुनसरीको जेठो सदरमुकामको सूचिमा सुचिकृत इनरुवा नगरपालिकाले विकास निर्माणको क्रममा आशातित प्रगति हात पार्न सकेको छैन् ।
पछिल्लो समय क्रमश विकास निर्माणमा गति लिन थालेको इनरुवा नगरपालिकामा स्थानीय तहमा निर्माण हुन लागेको क्षेत्रीय रङ्गशाला निर्माणको कार्य पुरा हुन सके खेलकुदको क्षेत्रमा मात्रै नभई समग्र इनरुवाकै विकासमा टेवा पुग्ने देखिन्छ । सुनसरीको इनरुवा सहित आसपासका गाविस विभिन्न खेलसँग सम्वन्धित पूर्व राष्ट्रिय तथा नयाँ युवा खेलाडीहरुको वर्चश्व रहेको स्थानका रुपमा परिचित छ ।