dj sound system

अमर काफ्ले बैशाख २६ इनरुवा /पछिल्लो समय देखासिखीका रुपमा डिजेको बढ्दो प्रयोगका कारण कोलाहलपूर्ण वातावरणको सीर्जना हुन पुगेको र ध्वनी प्रदुषण समेत बढेको निष्कर्श सहित सुनसरी प्रशासनले निगरानी र नियन्त्रणको अभियान चाल्ने तयारी गरेको छ ।नीयस्तरबाट डिजेको बढ्दो विकृति र सामाजिक शान्ति खलबलिन पुगेको गुनासो पछि सुनसरी प्रशासनले डिजे साउण्ड प्रतिवन्ध गर्न सक्ने सम्मको निर्णय गर्न लागेको हो । आज बसेको जिल्ला सुरक्षा समन्वय समितिको बैठकले डिजे साउण्ड व्यवस्थित गर्ने र अटेर गरे कार्वाही प्रकृया अघि बढाउने निर्णय तत्कालबाटै कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ ।

विवाह, वर्तमन्ध, चाडपर्व, मेला वा अन्य कुनै अवस्थामा डिजे साउण्ड प्रयोगमा ल्याएको पाइए प्रहरीले तत्काल सम्वन्धि व्यक्तिलाई नियन्त्रणमा लिई डिजे सहितका सामाग्री जफत समेत गर्न सक्ने छ । सुरुवातमा ठुलो आवाजमा साउण्ड नबजाउन गरेको आग्रह अटेर गरे सम्वन्धित डिजे संचालक कार्वाहीको दायरामा पर्न सक्ने छन् । केही समय सुधारको अवस्था नियाल्ने बताएको प्रशासनले आशातित सुधार नभए पूर्ण रुपमा प्रतिवन्ध समेत लगाउन सकिने जनाएको छ ।डिजे साउण्ड होस या अन्य ध्वनी निस्कने साधनहरु ठुलो आवाजमा बजाएको र त्यसले असर पुर्याएको भनी कसैले उजुर गरे सो उजुरीका आधारमा प्रहरीले सम्वन्धित व्यक्ति उपर कार्वाही प्रकृया अघि बढाउने बताइएको छ ।

सामान्य रुपमा बाजाका साथै साउण्ड सिस्टमहरु प्रयोगमा ल्याउन मिल्ने भएपनि कोलाहल पूर्ण वातावरणको सीर्जना हुने गरी त्यस्ता किसिमका सामाग्रीहरु प्रयोगमा ल्याउन नपाइने निर्णय गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले बताए ।सर्वसाधारणको गुनासो प्रति ध्यानाकर्षण भएको र बजार आसपासका क्षेत्रमा डिजेको विकृति बढेकाले नियमनका लागि उक्त कदम अघि बढाइएको प्रजिअ चापागाईले बताए ।डिजे साउण्डको प्रयोग पछिल्लो समय सुनसरीमा एकाएक बढेर गएको छ । भारतीय बजारमा निकै अघिदेखि प्रयोगमा रहेको डिजे सुनसरीसँग सीमा जोडिएका भारतीय सीमावर्ती भेगमा प्रयोगमा आउन थालेसँगै देखासिखीका रुपमा सोको प्रयोग अन्यत्र समेत विस्तार हुन पुगेको हो ।

तपाईको प्रतिक्रिया