२९ वैशाख , राजविराज। नेपाल स्थित भारतीय दूतावासका मिसन प्रमुख (डिपुटी चिफ अफ मिसन) विनय कुमारले भारतीय लगानीमा सञ्चालित योजनाहरुको निर्माण कार्य समयमा हुन नसक्दा नयाँ योजनाहरु थप गर्न नसकिएको बताएका छन् ।
नेपाल–भारत मैत्री संघ र अर्बुद रोग निवारण संस्थाको संयुक्त आयोजनामा राजविराजमा बुधवार सञ्चालित पाठेघर तथा स्तन क्यान्सर सम्वन्धि स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले यस्तो कुरा बताएका हुन् । भारत सरकारको सहयोगमा देशैभरी विभिन्न योजनाहरु सञ्चालनमा रहेको चर्चा गर्दै मधेशमा सञ्चालित योजनाहरुको काम समयमा हुन नसक्दा नयाँ योजनाहरु थप्न सक्ने अवस्था नरहेको उनले प्रष्ट पारे ।
सम्झौता भएको ५–७ वर्षभन्दा बढी भईसकेका साना तथा ठूला योजनाहरु कार्यान्वयन हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे । आफूहरु मित्रराष्ट्रको नाताले नेपाल र नेपाली जनताको उन्नती प्रगति चाहेको बताउँदै उनले भने ‘पहाडी जिल्लाहरुमा सञ्चालित योजनाहरु समयमै सम्पन्न हुन्छन् तर मधेशमा भने अधिकांश योजनाहरुमा भने ढिलासुस्तीको समस्या छ ।’
सप्तरी जिल्लामा सञ्चालित कन्या छात्रावास, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको प्रसुती कक्ष, विद्यालय भवन लगायतका योजनाहरुको काम पुरा हुन नसकेका कारण सप्तरीमा नयाँ योजनाले प्रवेश नपाएको उनले बताए । ‘हामी चाहन्छौ कि समयमै योजनाहरु पुरा होस् र नयाँ योजनाहरु आउने ढोका खुलोस्’ मिसन चिफ विनय कुमारले भने ‘निर्माणमा ढिलासुस्ती भएका योजनाहरुलाई अविलम्ब सम्पन्न गर्न दुवै पक्ष जिम्मेवार बन्नु जरुरी छ ।’
सप्तरीका जिल्लाका योजनाहरुको बारेमा सुरक्षा अधिकारी, राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, वुद्धिजिवी लगायतका पक्षहरुसँग छलफल गरेको जानकारी दिँदै सकारात्मक प्रतिक्रिया पाएको उनले बताए । सरोकारवालाहरुले जिम्मेवार भएर तदारुकताकासाथ अगाडि बढे रोकिएका निर्माण कार्यहरु चाँडै सम्पन्न हुनेमा प्रमुख अतिथि विनय कुमारले विश्वास व्यक्त गरे । शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रहरुमा भारतले वर्षौदेखि लगानी गर्दै आएको चर्चा गर्दै आगामी दिनहरुमा समेत नेपाललाई भारत सरकारले सहयोगलाई निरन्तरता दिने प्रष्ट पारे ।
नेपाल भारत मैत्री संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश सरावगीले नेपाल र भारत बीचको सम्वन्ध परापूर्व कालदेखि रहँदैआएकोले यो सम्वन्ध युगौयुगसम्म कायम रहने बताए । दुई देश बीचको सम्वन्धबारे चर्चा गर्दै आउँदा दिनहरुमा समेत एक–अर्काको सहयोग सद्भावले निरन्तरता पाउने उनले विश्वास व्यक्त गरे ।
साहित्यकार साहित्यकार करुणा झाद्वारा सञ्चालित कार्यक्रममा भूमी सुधार मन्त्रालयका सह–सचिव नागेन्द्र झा, नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ, उपाध्यक्ष अरुण कुमार सिंह, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक प्रकाशराज न्यौपाने, निमित प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, नेपाल भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज कुमार मुन्धडा लगायतले मन्तव्य व्यक्त गरे । साहित्यकार झाद्वारा हिन्दी भाषामा लिखित ‘जीवनपथ पर चलते चलते’ पुस्तकको समेत प्रमुख अतिथिलगायत अतिथिहरुले विमोचन गरे । कार्यक्रममा देवेन्द्र सोनी र पायल झाले गीत प्रस्तुत गरेका छन् ।
साहित्यकार झाद्वारा हिन्दी भाषामा लिखित ‘जीवनपथ पर चलते चलते’ पुस्तकको समेत प्रमुख अतिथिलगायत अतिथिहरुले विमोचन गरे । कार्यक्रममा देवेन्द्र सोनी र पायल झाले गीत प्रस्तुत गरेका छन् । शिविरमा महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर सम्वन्धि स्वास्थ्य परीक्षण भईरहेको छ ।