५ जेठ, काठमाडौं । नेपालले आफ्नै पानीजहाज किनेर चलाउने प्रधानमन्त्री केपी ओलीको भाषण देशमा हाँसो ठट्टाको विषय बनेको छ । सामाजिक सञ्जालदेखि चिया पसलसम्म प्रधानमन्त्री मजाकका पात्र बनिरहेका छन् ।

भुपरिवेष्ठीत राष्ट्र नेपाल कुनै समुद्रसँग जोडिएको छैन । त्यसैले पनि पानीजहाजको कुरालाई हावादारी गफ मानिरहेका छन् नेपालीहरु । यद्यपि, भुपरीवेष्ठित राष्ट्रले समुद्रमा आफ्नो झण्डा राखेर पानीजहाज चलाउन पाउने बताउँछन् पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझा ।

‘भुपरिवेष्ठित राष्ट्रका पानीजहाज बन्दरगाहमा आउने, रोकिने र फर्किएर जाने गर्न पाउँछन्,’ उनले  भने, ‘अन्तर्राष्ट्रिय सामुद्रिक काननुले त्यसको प्रत्याभुत गरेको छ ।’

पहिले पनि भएको थियो प्रयास

विगतमा पनि नेपालले आफ्नै पानीजहाज सञ्चालन गर्न नखोजेको होइन । साढे चार दशकअघि २०२८/०२९ सालतिर पानीजहाज किन्नका लागि प्रकृया अगाडि बढाइएको थियो । पानीजहाज सञ्चालन गर्न रोयल नेपाल सिपिङ कर्पोरेसन खडा गरियो । तर, पञ्चायतकालमा उत्पत्ति भएको सो कम्पनी पञ्चायतकालमै बिलायो ।

त्यसयता नेपालले पानीजहाज किनेर चलाउने प्रयास गरेको छैन । तर, एक्कासी प्रधानमन्त्री ओलीले पानीजहाज किनेर नेपाली झण्डा फहराई हिन्द र प्रशान्त महासागरमा चलाउने बताएपछि पानीजहाजको बहस पुनः सतहमा आएको छ । तर, पानीजहाज चलाउन सामुद्रीक र बन्दरगाहका धेरै कानुनी प्रकृया पुरा गर्नुपर्ने हुन्छ ।

भारतसँगको सन्धि वाधक

फ्रेट फरवार्ड एशोसियसनका निवर्तमान अध्यक्ष राजन शर्मा प्रधानमन्त्रीले भनेजस्तै नेपालले पानीजहाज किनेर चलाउन अहिलेकै अवस्थामा सम्भव नरहेको बताउछन् । भारतसँग भएको व्यापार तथा पारवहन सम्झौता यसका लागि वाधक हुने उनको दावी छ । ‘सम्झौता अनुसार कलकत्ता आउने नेपाली समानको सम्पूर्ण ठेक्का भारतीय क्लियरिङ एजेन्टलाई दिनुपर्छ’ शर्माले भने- ‘हामीले आफ्नो जहाजबाट समान ल्याएर कलकत्तामा कसरी क्लियरिङ गर्ने ?’ आफ्नै पानीजहाज सञ्चालन गर्नका लागि पनि भारतसँगको सम्झौता संसोधन गर्नुपर्ने उनको भनाई छ ।

पानीजहाज किनेर सञ्चालन गर्न निकै खर्चिलो र झन्झटिलो रहेको पूर्ववाणिज्य सचिव ओझाको पनि भनाई छ । ‘सरकारले आफै पानीजहाज किन्ने होइन होला, निजी क्षेत्र पानीजहाज चलाउँछु भनेर अगाडि आएजस्तो लाग्दैन’ पूर्वसचिव ओझा भन्छन्, ‘नेपाली झण्डा राखेर पानीजहाज चलाउने घोषणा व्यवहारमा लागू हुनेमा शंका लाग्छ ।’

यदि सरकारले आफ्नो व्यवस्थापकीय क्षमता सुधार नगरी पानीजहाज सञ्चालन गरेमा त्यसको अवस्था पनि नेपाल एयरलाइन्स र यातायात कम्पनीकै सरह हुने पूर्वसचिव ओझाले बताए ।

तपाईको प्रतिक्रिया