काठमाडौ । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की विदेश भ्रमण छोट्याएर निर्धा्रित कार्यक्रमभन्दा ६ दिनअघि नै अकस्मात् स्वदेश फर्केकी छन् । कार्की अकस्मात् स्वदेश फिर्ता भएको विषयलाई न्याय क्षेत्रमा नयाँ विकसित घटनाक्रमसँग जोडेर हेरिएको छ ।

कार्कीको अनुपस्थितिमा कार्यवाहक प्रधानन्यायाधीशको दायित्व समालेका न्यायाधीश बैजनाथ उपाध्यायको एकल इजलासले मंगलबार ११ जना न्यायाधीश सिफारिसको निर्णय खारेज गर्न माग राखेर पेस भएको रिट दर्ता गरी सुनुवाइ अघि बढाउन आदेश दिएको थियो । उक्त रिटलाई यसअघि सर्वोच्चकै रजिस्ट्रारले दरपीठ गरी फिर्ता पठाइदिएका थिए ।

निवर्तमान प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र वरिष्ठ न्यायाधीशका हैसियतमा कार्की पनि सदस्य रहेको न्याय परिषद्को सिफारिसमा परेका ११ जना न्यायाधीशको नियुक्तिमा अदालतमा मतभेद रहेको अड्कलबाजी भइरहेका बेला उपाध्यायको आदेश र त्यसले निम्त्याउने संकटकै पृष्ठभूमिमा कामु प्रधानन्यायीश कार्कीको स्वदेश फिर्तीलाई हेरिएको छ ।

अमेरिकास्थित वासिङ्टन डिसीमा ‘महिला न्यायाधीश र कानुनको शासन’ विषयक अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भाग लिन जेठ ११ गते उनी त्यसतर्फ लागेकी थिइन् ।अमेरिकाको बसाइपछि क्यानडा भ्रमणको कार्यक्रम पनि थियो । स्रोतका अनुसार उनी क्यानडा जाने जहाजको टिकट रद्द गरेर फर्किएकी हुन् । त्यहाँ न्यायमा पहुँचका विषयमा अदालतको अवलोकन, न्यायाधीशसँग भेटघाट र निजी भ्रमणको कार्यक्रम तय भएको थियो ।

सर्वोच्च अदालत स्रोतका अनुसार उनी जुन ६ तारिखमा स्वदेश फर्कने कार्यक्रम थियो । आजको अन्नपुर्णमा समाचार छ।

तपाईको प्रतिक्रिया