काठमाडौ । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी गरी ५१ जना उपसचिवको सरुवा गर्दा समन्वय नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग रुष्ट भएका छन् ।गृह मन्त्रालयले बुधबार ५१ जनाको काज सरुवा गरेलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतसँग छलफल गरेका थिए ।

ठूलो संख्यामा कर्मचारी सरुवा गर्दा आफूसँग सामान्य छलफल र समन्वयसमेत नगरेको भन्दै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतसँग असन्तुष्टि पोखेका छन् ।गृहमन्त्री बस्नेतका सहयोगी मुक्ति बस्नेतले भने प्रधानमन्त्री र गृहमन्त्रीबीच सरुवाका विषयमा सामान्य छलफल भए पनि कुनै विवाद नभएको दाबी गरे ।‘प्रधानमन्त्रीज्यू र गृहमन्त्रीबीच सरुवाको विषयमा सामान्य छलफल भएको हो, त्यस्तो कुनै विवाद भएको होइन,’ गृहमन्त्रीका सहयोगी बस्नेतले भने ।बस्नेतले प्रधानमन्त्रीले गृहमन्त्रीको राजीनामा मागेको भन्ने हल्ला निराधार र गलत भएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार साँझ नै सरुवा रद्द गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्षको अन्तिममा आएर गरिएको सरुवा रद्द गर्न निर्देशन दिएको हो ।स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो समन्वयविना ठूलो संख्यामा कर्मचारी सरुवा गरेकोमा त्यसलाई रोक्न दबाब दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सरुवा बदर गर्न निर्देशन दिँदै पत्र लेखेको हो । आजको नयाँ पत्रिकामा समाचार छ ।

तपाईको प्रतिक्रिया