त्रिपालमुनि बसेकालाई जस्ताको छानामुनि ल्याउन भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने प्रधानमन्त्री केपी ओलीसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजना असफल भएको छ। प्राधिकरणले जेठ ७ देखि २१ गतेसम्म १५ दिनका लागि स्वयंसेवक परिचालन गर्ने लक्ष्य राखेर बनाएको निर्देशिका पनि अलपत्र परेको छ।प्रधानमन्त्री ओलीले राजनीतिक दलका कार्यकर्तालाई स्वयंसेवक बनाएर परिचालन गर्ने प्रस्तावलाई दलहरूले महत्व नदिएपछि यो योजना असफल भएको हो।
प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले स्वयंसेवक परिचालन गर्ने वातावरण बन्न नसकेको बताए। ‘भूकम्पलगत्तै राहत र उद्धारमा जसरी सबै पक्ष जुटेका थिए, त्यस्तै वातावरण निर्माण गर्न खोजेका थियौं। यो विषयमा हामी प्राधिकरणमा समीक्षा गर्दैछौं’, थपलियाले भने।
त्रिपालमुनि बसिरहेका भूकम्पपीडितलाई आगामी बर्सात् सुरु हुनुअघि नै व्यक्तिगत वा सामूहिक अस्थायी आवासमा ल्याउन सहयोग गर्ने, समुदायमा विभिन्न कारणले पछाडि परेका घरपरिवारले स्थायी आवास पुनर्निर्माण गर्न चाहेमा सहयोग गर्ने कार्यक्षेत्र स्वयंसेवकका लागि तोकिएको थियो। आजको अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।