३१ जेठ, नरेन्द्र बस्नेत बेलबारी ।(प्रतिनिथि तस्विर) सम्बन्धित निकायले ध्यान नदिँदा मोरङका बेलबारी नगरपालिका क्षेत्रका उपभोक्ताहरु अस्वस्थकर मासु खान बाध्य बनेका छन ।उपयुत्त ठाँउमा बधसाला निर्माण हुन नसक्दा सो क्षेत्रका उपभोक्ताहरु अस्वस्थकर मासु खान बाध्य बनेका हुन । जिल्ला पशु सेवा कार्यालय, नगरपालिकाले ध्यान नदिदा अस्वस्थय मासु खान बाध्य बन्ने गरेको उपभोत्ताहरु नै गुनासो गर्ने गरेका छन । बेलबारी नगरपालिका भित्र मात्रै सातामा तिन दिन बजार लाग्ने गर्छ । सातामा सोमवार, बुधवार तथा शुक्रबार बजार लाग्ने गर्छ ।
मोरङकै ठुलो बजारका रुपमा लाग्ने सोमबारे हटियामा समेत सुबिधायुत्त मासु बधशाला छैन । बेलबारी नगरपालिकाले आधारभुत पुर्वाधारको विकासमा बेवास्ता गर्दा प्रमुख आयस्रोतको रुपमा रहेको साप्ताहिक हाट समेत सुक्न थालेको छ । बेलबारीको सोमबारे साप्ताहिक पशुहाटमा सुविधा नथपिँदा आउने ग्राहकको संख्यामा समेत कमी आउन थालेको छ ।दैनिक रुपमा मासु खपत बढेपनि सम्बन्धित निकायको बेवास्ताका कारण धुलो मैलोमा मिसिएको मासु खान बाध्य बनेको उपभोक्ताहरुको गुनासो छ ।
बेलबारी नगरपालिकाले सोमबारे पशु हाटका लागी आर्थीक वर्ष २०७२–०७३ मा ३५ लाख ७ हजार रुपैयाँमा ठेक्का लगाएपनि उत्त रुपैयाँले उपभोक्ता हितका नाममा नखर्चिएको स्थानियको आरोप समेत रहेको छ । उत्त रकमको केहि प्रतिशत खर्च गरी मासु बधशाला निर्माण गर्दा राम्रो हुने बेलबारी ४ का लक्ष्मण जंग थापाको भनाई छ ।
बेलबारी नगरपालिकाको ४ नम्बर वडामा मात्रै दुई दिन बजार लाग्ने गर्छ ।शुक्रवार र बुधवार बजार लाग्ने गरेपनि दुबै स्थानमा बधशाला निर्माण भएका छैनन । बुधबार पशु सेवा केन्द्र बेलबारीको कम्पाउन्डको सामुन्नेमा खुल्ला ठाउँमै मासुको कारोबार हुने गर्छ । कर्मचारीले धेरै पटक विभिन्न गैर सरकारी तथा कार्यालयले नै गरेको तालिममा स्बस्थकर मासु मात्र खान भनेर अनुरोध गर्ने गरेका छन तर आँखै अगाडि खुल्ला ठाउँमा मासु काटेर बेच्दा कार्यालय भने मौन बस्ने गरेको छ ।
राजमार्ग सँगै जोडिएका बजारमा सडकको किनारामा तातो घाममा बसेर ब्यापारीहरु मासु बेच्न बाध्य बनेका छन । नगरपालिकाले उनीहरु सँग कर उठाए पनि सेवा भने दिन सकेको छैन । यता बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले भने जिल्ला पशु सेवा कार्यालय सँगको सहकार्यमा चाँडै एउटा बधशाला निर्माण गर्ने तयारी भएको बताएका छन ।