१ असार, राजविराज । चट्याङ्गले एक महिना अगाडि क्षति पुर्याएको विद्युत ट्रान्सफर्मर हालसम्म मर्मत नभएपछि सप्तरीको लौनिया गाविस पुरै अन्धकार बनेको छ ।विद्युत नभएपछि स्थानीयवासी दिनभरी छिमेकी गाविसमा हुकिङ्ग गरेर मोबाइल चार्ज गर्न बाध्य भएका छन् । नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र राजविराजले क्षति पुगेको ट्रान्सफर्मर तीन साता अघि खोलेर लगे पनि अर्को जडान नगरिदिएका कारण अन्धकारमा बस्नुपरेको वडा नम्वर–१ का विनोद कुमार मण्डलले बताए ।
‘विद्युत नभएपछि मोबाइल समेत चार्ज गर्न समस्या भयो’ उनले भने ‘कुनै व्यवस्था नभएका कारण छिमेकी गाविस स्थित विद्युत तारमा हुकिङ्ग गरेर चार्ज गर्न शुरु गरेका छौं ।’ चर्को घाममा दिनभरि बसेर मोबाइल चार्ज गर्नुपरेको उनले विवशता सुनाए ।लौनिया–६ का राजेश कुमार शर्माले तिलाठी स्थित पब्लिक उच्च माध्यमिक विद्यालयकालागि ल्याईएको विद्युतको पोलमा हुकिङ्ग गरेर मोबाइल चार्ज गर्नेहरुको दिनभरि भीड लाग्ने गरेको बताए । ‘मोबाइल, टर्चलाइट, ईमरजेन्सी लाइट, लामखुट्टे मार्ने ब्याट चार्ज गर्न दिनभरि कुर्नुपर्ने बाध्यता छ’ उनले भने ‘चार्ज गर्नमै दिन बित्ने भएका कारण घरको कामकाज समेत भ्याउन मुश्किल परेको छ ।’
विद्युत आपुर्ति बन्द भएका कारण पढ्न समेत समस्या भएको लौनिया–३ निवासी कक्षा १० कि राखी कुमारी मण्डलको दुखेसो छ । उनले भनिन् ‘विजुली नभएका कारण राती पढ्न समस्या परेको छ, बिजुली कहिले आउने हो अत्तोपत्तो छैन ।’ लौनिया–२ का विरेन्द कुमार मण्डलले विद्युत अभावका कारण कुटानी–पिसानी समेत प्रभावित भएको बताए । धान कुटाउन, तेल पेल्न, पीठो पिँध्नकालागि तिलाठी, पिप्राही, दमावती, सदरमुकाम राजविराज र भारतको कुनौलीसम्म पुग्नुपरेको वीरेन्द्रले दुखेसो सुनाए ।
गाउँका अधिकांश युवा रोजगारीका लागि विदेश गएको अवस्थामा विद्युत अभावले सम्पर्क विच्छेद भएर बस्नुपर्दा जोखिम मोलेरै भए पनि हुकिङ्गद्वारा मोबाइल चार्ज गर्नुपरेको स्थानीयवासीहरुको भनाइ छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख राम उदगार साहले ट्रान्सफर्मर मर्मत गरेर जडान गर्ने तयारी भइरहेको बताए ।न्युजटुडेबाट