२ असार, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात एसएलसी परीक्षाको नतिजा अाज (बिहीबार) सार्वजनिक गर्ने भएको छ ।परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भन्नुभयो, “अाज मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा अाज अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।”
नौ ग्रेडिङमा परीक्षाफल
एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराउनुभयो । उहाँले ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको जानकारी दिनुभयो ।
नियमित, प्राविधिक र पुरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिने छ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ ।