काठमाडौं । मधेसी मोर्चाले वातावरण बनाएमा सरकारसँग वार्तामा बस्ने निर्णय गरेको छ । सरकारको पत्रको सातबुँदे प्रतिउत्तर पठाउँदै मोर्चाले सातबुँदे सर्तसमेत राखेको छ ।

संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार साँझ बसेको मोर्चाको बैठकले वार्ताको वातावरण बनाउन आग्रह गर्दै सरकारलाई पत्र पठाएको हो । सरकारले वार्ताका लागि मोर्चालाई ३० जेठमा पत्र पठाएको थियो ।

वार्ताको सकारात्मक वातावरणका लागि आफूहरू प्रतिक्षामा रहेको मोर्चा नेता केशव झाले बताए । ‘वार्ताको वातावरण बनाउन मोर्चाले सरकारलाई जवाफी पत्र पठाएको छ,’ झाले भने ।

वार्ताप्रति सकारात्मक भए पनि सरकारले चासो नदिएको मोर्चाले जनाएको छ । सरकारले सहिद घोषणा नगरेको, घाइतेको उपचार खर्च नदिएको तथा उच्चस्तरीय छानबिन आयोग गठन नगरेकाले वार्ताको वातावरण तयार नभएको मोर्चाको ठहर छ ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकार सार्थक र परिणाममुखी वार्ताका लागि तयार हुनुपर्ने बताए । ‘सरकार विगतका विभिन्न सहमति मान्न तयार देखिएको छैन,’ श्रेष्ठले भने, ‘सरकारले वातावरण बनाउन पनि नसकेकाले वार्ता हुन नसकेको हो ।’

आन्दोलनमा रहेको संघीय गठबन्धनलाई पनि सरकारले वार्तामा बोलाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘मोर्चासहितको संघीय गठबन्धन आन्दोलनमा रहेकाले गठबन्धनलाई पनि वार्ताका लागि बोलाउनुपर्छ ।’ अाजकाे नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया