काठमाडौं । नेकपा एमाले निर्वाचनको तयारीमा जुट्ने भएको छ । सरकारले संविधानसभाबाट जारी संविधानको व्यवस्थाअनुसार निर्वाचनको योजना तय गरेपछि एमाले त्यसमै केन्द्रित हुन लागेको हो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले स्थानीय, प्रदेश र संघीय तहको निर्वाचन तयारीमा लाग्नुपर्ने निष्कर्ष निकालेको छ ।
सरकारले बिहीबार मात्रै मंसिर महिनामा स्थानीय, ०७४ वैशाख र जेठसम्ममा प्रदेश र ०७४ मंसिरसम्ममा संसदीय निर्वाचन गर्ने कार्ययोजना तय गरेको थियो । बैठकमा सरकारले अघि सारेको कार्ययोजना, बजेटका साथै व्यवस्थापिका-संसद् कार्यसञ्चालन नियमावलीका विषयमा छलफल भएको थियो । समसामयिक राजनीतिक विषयमा छलफल भए पनि कुनै निर्णय नभएको आचार्यले जानकारी दिए ।आजको कारोबार दैनिकमा खबर छ ।