काठमाण्डाै । ( फाइल तस्विर ) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गत जेठ २७ गते आह्वान गरेको नेपाल बन्दमा सवारी साधन बाक्लै चले, उद्योग-कलकारखानामा पनि खासै अवरोध पुगेन, बजारमा पनि चहलपहल रह्यो।
हरेक बन्द, हडताल र विरोधका कार्यक्रमका बेला बालबालिका यसरी नै शिक्षा आर्जनबाट वञ्चित हुने गरेका छन्। एक महिनाअघि माओवादीले नै आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न राजधानीको टुँडीखेलमा निकालेको जुलुसमा हजारौं बालबालिकालाई विद्यालयबाटै सहभागी हुन उर्दी जारी गरियो।
जबर्जस्ती किताबकापीको झोलासहित चर्को घाममा घन्टौं हिँडाइयो। दिनैभरिजसो ठेलमठेल जुलुसमा हिँडाएर नाच्न, गीत गाउन, झन्डा फहराउन र चिच्याएर नारा लगाउन पठाइयो। साँझ अबेर बल्ल ती बालबालिका थकित हुँदै घर पुगे।
भारतीय नाकाबन्दी र मधेसवादी दलको तराई बन्दले महिनौं दिनसम्म उनीहरू विद्यालय जानबाट वञ्चित भए। विद्यालयका सवारीसाधनमाथि ढुंगामुढा गरियो र दिनहुँजसो हुने धर्ना, जुलुसमा पनि बालबालिकाको उपस्थिति नियमित प्रथा नै बन्न पुगेको थियो। त्यसको केही समयअघि विशेष अधिकारसहितको कर्णाली राज्यको माग गर्दै जुम्लाको खलंगमा निकालिएको जुलुसमा बालबालिकालाई अर्धनग्न अवस्थामा सामेल गरिएको थियो।
राजनीतिक दलले जुलुस, धर्ना, सभा, बन्द, हडताललगायत विरोधका कुनै पनि कार्यक्रममा बालबालिकालाई प्रयोग नगर्ने र त्यस्ता कार्यक्रमले उनीहरूको स्वास्थ्य, शिक्षा, सुरक्षालगायत अधिकार हनन हुने किसिमले काम नगर्ने प्रतिबद्धता जनाए पनि त्यसलाई कार्यान्वयन गरेको छैन।
बालबालिकालाई राजनीतिक ढाल बनाउँदा उनीहरू शारीरिक, मनोवैज्ञानिक र सामाजिक रूपमा प्रताडित हुनसक्छन् भन्नेमा माओवादीमात्र होइन, कुनै पनि दलहरू गम्भीर देखिएको पाइँदैन। राजनीतिक दलका माग पूरा गर्न होस् वा अन्य कुनै विरोधका कार्यक्रममा अबोध बालबालिकालाई प्रयोग गर्नु हुन्न भन्ने आवाज द्वन्द्वकालदेखि नै उठेको हो।
तर यसका विरुद्ध सरकार, सम्बन्धित सामाजिक संघसंस्था, सचेत नागरिक कोही पनि कडा रूपमा प्रस्तुत हुन नसक्नुले बालबालिका मनोवैज्ञानिक समस्याबाट ग्रसित हुने जोखिम बढेको छ। सेफ द चिल्ड्रेनका एड्भोकेसी र कम्युनिकेसन अफिसर सुदर्शन श्रेष्ठले आफूहरूले राजनीतिक रूपमा बालबालिकाको दुरुपयोग भएको विषयलाई लिएर लामो समयदेखि आवाज उठाउँदै आए पनि दलहरूले बेवास्ता गरिरहेको बताए।
नयाँबानेश्वस्थित लिभरपुल इन्टरनेसनल हाइयर सेकेन्डरी स्कुलका निर्देशक सुदन डोटेलले राजनीतिमा बालबालिकालाई प्रयोग गर्नु हुन्न भन्नेमा बर्सौंदेखि आवाज उठाए पनि कसैले नसुनेको गुनासो गरे। ‘जब एउटा राजनीतिक पार्टी विपक्षमा पुग्छ तब उसले सबै कुरा बिर्सेर बालबालिकाजस्ता आवाजविहीनहरूको दुरुपयोग गर्न थाल्छ’, उनले भने, ‘त्यसका विरुद्ध सकडमै उत्रिएर आन्दोलन गर्न हामी सक्दैनौं किनभने हामी बालबालिकाको भविष्य उज्यालोतर्फ लम्काउने व्यक्ति पर्यौं