betna utkhanan

६ असार, नरेन्द्र बस्नेत बेलबारी । धार्मिक र ऐतियहासिक महत्व समेत बोकेका मोरङका तीन ठाँऊमा पुरातत्व बिभागको टोलीले अनुसन्धान र उत्खनन गरेको छ । ती ठाँउमा करिब २ सय बर्ष पुराना सामानहरु समेत भेटिएको जनाईएको छ ।

मोरङको बेलबारीमा रहेको बेतना सिमसार,धनपालगढी र लेटाङ भोगटेनीमा रहेको धिमाल राजारानी पोखरी क्षेत्रमा पुरातत्व बिभागको ४ सदस्यीय उत्खनन टोलीले अध्यायन र अनुसन्धान गर्दा ती क्षेत्रहरुमा करिब २ सय बर्ष पुराना सामाग्रीहरु भेटिएको पुरातत्व बिभागका अनुसन्धान अधिकृत बिष्णु पाठकले बताए ।

असार २९ गतेबाट टोलीले ती क्षेत्रमा अनुसन्धान र उत्खनन शुरु गरेको थियो ।बेतना सिमसारमा करिब २ बर्ष अघि सिमसार क्षेत्रमा स्थानीयले भेटेका माटोका भाँडाका टुक्राहरु र ढुंगाका पुराना हतियारहरु भेटिएपछि स्थानीयले सो सामानहरु जम्मा पारेर पुर्ब साँसद हर्कमान तामाङ मार्फत पुरातत्व बिभागमा पठाएपछि २ बर्ष अघि पहिलो पटक टोली आएर सो बारेमा अनुसन्धान शुरु गरेको थियो ।

यो पटक समेत गरेर बेतनामा मात्र ३ पटक उत्खनन भईसकेको छ । यसक्रममा उत्खननमा भेटिएका सामाग्रीको अध्ययन गर्दा मिथिलाको इतिहास भन्दा यस क्षेत्रको ईतिहास झण्डै दोब्बर पुरानो भएको बरिष्ठ पुरातत्वबिद तारानन्द मिश्रले बताए । सो क्षेत्रमा भेटिएका माटोका टुक्राहरु,र हतियारहरु ७ सय देखि ३ सय इसापुर्बका हुनसक्ने अनुमानका साथ बेतना क्षेत्रमा अनुसन्धान गर्नका लागी बरिष्ठ पुरातत्वबिद तारानन्द मिश्र सहितको टोली बेतनामा आएर अनुसन्धान शुरु गरेको थियो ।

मिश्रले सो क्षेत्रमा आर्य समुदायको बसोबास भएको हुनसक्ने र उनीहरुले नै प्रयोग गरेका भाँडा र हतियारहरु भएको हुनसक्ने अनुमानका साथ अनुसन्धान शुरु गरिएको बताए । टोलीमा पुरातत्व बिभागका अधिकृत बिष्णु पाठक इन्जिनियर लक्ष्मी महर्जन लगायत रहेका छन । पुरातत्व बिभागमा बि।स २०२१ देखि २०५२ सालसम्म अधिकृत भएका मिश्र सहितको टोलीले कपिलबस्तु,लुम्बिनी लगायतका स्थानमा समेत यसअघि उत्खनन गरिसकेको छ । बेतना सँगै टोलीले यसपटक धनपालगढी र राजारानीमा समेत अध्यायन र अनुसन्धान गरेको छ ।

आईतबार उत्खननका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा बेतना सिमसार संरक्षण समितिका अध्यक्ष ईरान राई,समाजसेवी दिल प्रसाद राई,शिव प्रसाद बराल,नेपाली काँग्रेसका बेलबारी नगर सभापति शम्भु भट्टराई लगायतले यो उत्खननले बेलबारी र बेतनाको बारेमा नयाँ परिचय दिएको र यस क्षेत्रको इतिहास जान्नका लागी समेत थप मद्धत पुगेको धारणा राखेका थिए । यस क्षेत्रको पर्यटकीय मात्र नभएर ऐतियहासिक तथा पुरातात्विक क्षेत्रका रुपमा बिकास गर्नका लागी पनि यो उत्खनन कार्यले मद्धत पुगेको र यसअघि सो क्षेत्रमा भेटिएका सबै सामाग्रीहरु सुरक्षित राखिएको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहका अध्यक्ष डम्बर बस्नेतले बताए ।

तपाईको प्रतिक्रिया