कोशी नदीमा पानीको बहाव बढ्यो ,राजविराज कुनौली सडक खण्ड अवरुद्ध

badhi flod

७ असार।सोमबार राति देखी परेको अविरल वर्षाका कारण पूर्वका जिल्लाहरुमा बाढी आएको छ । सो बाढीमा परी दुईजनाको मृत्यु भएको छ । यस्तै कोशी नदीमा पानीको बहाव बढेको छ ।

मंगलबार बिहान कोशीब्यारेजमा १ लाख २६ हजार ८३० क्युसेक पानी मापन गरिएको छ । पानीलाई निकास दिनका लागि ब्यारेजका ५६ मध्ये २० ढोका खोलिएको छ । वर्षा भइरहेकाले पानीको बहाव अझै बढ्ने सक्ने कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सुनसरीको ईहटरी ४ स्थित नालामा डुबेर मंगलबार एक जनाको ज्यान गएको छ ।

स्थानिय ६६ वर्षिय राम बहादुर बराइलीको शव कचना मन्दिर नजिकै रहेको पैनीमा डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस्तै सुनसरीको इटहरी २२ बालग्राममा करेन्ट लागेर ५० वर्षिय भानु भक्त तिम्सिनाको ज्यान गएको छ । रातिदेखि आएको अविरल वर्षा हेर्न भनि छत माथी उक्लिएका तिम्सिनाको हाइटेन्सन लाईन छुन पुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

badhi flod5 badhi flod4

घटनास्थलमा इलाका प्रहरी कार्यालय पकलीबाट टोली खटि गई कानूनी प्रकृया सम्पन्न गरिएको छ । यता पूर्वका झापा, मोरङ र सुनसरी जिल्लाका बिभिन्न खोलामा वर्षाका कारण आएको बाढीले सयौ घर डुबानमा परेका छन ।

मोरङको हसन्दह ५ मा समेत बक्राहा खोलाले बाँध फुटाई गाउँमा पानी पस्दा २० घर डुवानमा परेका छन । उक्त स्थानमा इलाका प्रहरी कार्यालय पथरी र प्रहरी चौकी रमाईलोबाट प्रहरी परिचालन भएको छ ।

त्यसैगरी सुनसरीको इटहरी २० पकलीस्थित भोक्राहा खोलामा आएको बाढी खोला किनारमा रहेका ५ घरमा पसेर डुवान भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली खटि गई डुवानमा परेका घरहरु खाली गराएको छ ।

त्यसैगरी झापाको मेची नदीमा आएको बाढीले भद्रपुर नगरपालिका वडा नम्बर ५ र ७ स्थित नदी किनारमा रहेका बस्तीमा पसेर सयौ घर टहराहरुमा अन्दाजी डेढ फिट जति पानी घरभित्र पसेर डुवान भएको छ । उक्त स्थानमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी खटि गई डुवानमा परेका घरहरु खाली गर्न माइकिङ गरी अनुरोध गरेका छन ।

badhi flod1

यसैगरी लगातारको बर्षाका कारणले सप्तरी जिल्लाको दक्षिणी भेगका केही गाविसहरु समेत डुबानमा परेका छन । लगातारको बर्षाका कारणले जिल्लाको लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया लगायतका गाविसहरुमा पानी पसेको स्थानीयबासीहरुले बताएका छन ।

यस्तै लगातारको बर्षाका कारणले खाँडो नदीमा आएको बाढीले राजविराज कुनौली सडक खण्डमा समेत पानी जमेपछि सर्वसाधारणहरुलाई आवत जावतमा निकै समस्या खेप्नुपरेको स्थानीयहरुले बताएका छन ।

बर्षेनी समान्य वर्षामा पनि त्यस भेगका सर्वसाधारणहरुले खाँडो नदीका कारणले उक्त सडक खण्ड अवरुद्ध हुन पुगका कारणले सो सडक खण्डमा संचालन हुने करिब एक दर्जन टेम्पो तथा ईरिक्सा समेत संचालन हुन सकेका छैनन् । त्यस्तै लगातारको बर्षाका कारणले जिल्लाको विभिन्न नदीहरुमा पानीको वहाव बढेका छन भने राजविराजस्थित राजरंगशाला समेत डुबानमा परेको छ ।

तपाईको प्रतिक्रिया