काठमाडौं । ११ सय सदस्यीय केन्द्रीय समिति बनाएर आलोचित नेकपा माओवादी केन्द्रले थप ४ सय केन्द्रीय सदस्य थपेको छ । प्रवक्ता पम्फा भूसालले यो संख्या केन्द्रीय समितिको नभई ‘एकता महाधिवेशन आयोजक समिति’ का रुपमा बढ्न गएको बताइन् । यसपालि थपिने अनुहारमा माओवादी भ्रातृ संगठनका सबै पदाधिकारी पर्न गएका छन् ।
माओवादीले माघभित्र पार्टीको महाधिवेशन गरिसक्ने निर्णयसमेत गरेको छ । भूसालले साउनभित्र भ्रातृसंगठन र पेशागत मोर्चाको एकता तथा समायोजन अभियान टुंग्याइसक्ने खाका बनेको जानकारी दिइन् । स्थानीय पार्टी कमिटीको सम्मेलन तथा एकता भेला असोजभित्र गरिसक्ने, मंसिरभित्र सबै प्रदेशको एकता भेला तथा सम्मेलन गरिसक्ने माआवादीले बताएको छ ।
पछिल्लो केन्द्रीय समिति विस्तारमा थपिएर केन्द्रीय सदस्य बनेका अखिल क्रान्तिकारी उपाध्यक्ष रन्जित तामाङले पार्टी एकता प्रक्रियाकै कारण संगठन ठूलो बन्न पुगेको, पछिल्लो बिस्तारमा विद्यार्थी, युवालगायत भ्रातृ संगठनका पदाधिकारी पर्न गएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।