काठमाडौ । प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर ठगी गरेको अभियोगमा पक्राउ गरी हिरासतमा राखिएका ३६ जनाको सम्पत्तिको खोजी सुरु गरेको छ ।आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक हुँ भन्दै ठगी गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका ३६ जनाको बिगो कायम गर्न अनुसन्धानमा संलग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूको सम्पत्ति विवरण संकलन सुरु गरेको हो ।

गत माघमा पक्राउ परेका १७ चिकित्सकले नक्कली चिकित्सकका रूपमा काम गरी ठगी गरेको रकम नखुलाउँदा १६ जना न्यून धरौटीमा मुक्त भएका थिए ।दोस्रो अपरेसनमा पक्राउ परेकाहरूले गरेको ठगीको रकम नखुलाउंँदा सामान्य धरौटीमा मुक्त हुने देखिएपछि प्रहरीले उनीहरू चिकित्सक भएपछि आर्जन गरेको सम्पत्तिको विवरण संकलन थालेको हो ।

पक्राउ परेका नक्कली चिकित्सकमाथि प्रहरीले ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ । ठगीको महल २ मा टेकेर आफ्नो पहिचान ढाँटेर आफ्नो फाइदा र अरूको घाटाका लागि काम गरी ठगी गरेको अभियोग लगाएकाले कैद र सजायको मागका लागि बिगो आवश्यक पर्छ ।

ब्युरो प्रमुख डीआईजी नवराज सिलवालका अनुसार पक्राउ परेका चिकित्सकमाथिको अभियोग पुष्टिका लागि चार तहको प्रमाण संकलन भइरहेको छ । उनका अनुसार चिकित्सकका रूपमा काम गर्न उनीहरूले पेस गरेको शैक्षिक प्रमाणपत्रको वैधताको पुष्टि भइसकेको छ ।

‘उनीहरूले योबीचमा आफ्नो पहिचान ढाँटेर कति जनाको स्वास्थ्यमाथि खेलबाड गरेर कति कमाए भन्नेसमेत अनुसन्धानको दायराकै विषय हो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘मेडिकल काउन्सिलबाट अनुमति लिएर चिकित्सकका रूपमा काम सुरु गरेको दिनदेखिको सम्पत्ति विवरण संकलन सुरु भइसक्यो ।’ आजको कान्तिपुरमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया