insec saptari balatkar1

१० असार, सप्तरी ।  सप्तरीमा छ महिनाको अवधिमा तीनको हत्या, १० बलात्कार, सात बलात्कार प्रयासलगायत एक सय ८३ वटा मानवअधिकार उल्लघंनका घटना भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले शुक्रबार अद्र्धवार्षिक समीक्षा कार्यक्रममा तथ्यांक सार्वजनिक गर्दै जिल्लामा मानवअधिकार उल्लघंनका घटना र पीडित हुनेको संख्या बढदै गएको जानकारी दिएको छ ।

इन्सेक प्रतिनिधी मनोहर पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा बोल्न नसक्ने र सुस्त मनस्थितीकी दुई बालिकासहित आठ बालिका बलात्कारका घटना सार्वजनिक गरिएको छ । पीडित हुनेमा पाँच वर्षीयादेखि १७ वर्षीयासम्मका बालिका रहेका छन् भने आरोपितमा १३ देखि ५९ वर्षसम्मका नौ जना रहेका छन् ।

insec saptari balatkar
यसैगरी बहुविवाहको नौ, बालविवाहको एक, गर्भपतनको एक, कथित बोक्सी आरोपको एक, बम प्रहारको तीन, बिद्यार्थीमाथि शिक्षकले, प्रधानाध्यापकमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले र पत्रकारमाथि युवाहरुले कुटपिट गरेको घटना समावेश छ । राजनीतिक दलको कार्यक्रम, प्रधानाध्यापक र अभिभावकहरुको आपसी द्वन्द्वले विद्यालयको पठनपाठन प्रभावित बन्न पुगेको घटना समेत सार्वजनिक गरिएको छ ।
आन्दोलनरत मधेसी मोर्चाद्वारा ग्यास बोकेको ट्रकमा ढुङ्गा प्रहार गरी सिसा फुटाएर क्षति पुर्याएको, बन्दको अवज्ञा गरी बैंक सञ्चालन गरेको भन्दै सनराइज बैंक लिमिटेडका सुरक्षा गार्डलाई कुटपिट गरी घाइते बनाएको र नेपाली काँग्रेसको १३ औ महाधिवेशनका क्रममा भएको चुनाव विथोल्दा झडप भएको घटना उल्लेख छ ।

महिला सुरक्षा दवाव समूहकी अध्यक्ष मालती चौधरीको अध्यक्षता एवं न्यायाधीश महेन्द्र प्रसाद पोखरेलको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा वक्ताहरुले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथ सबैको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय शान्ति समितिका संयोजक निरन्जन झा, नेकपा माओवादी केन्द्रका भागवत यादव, फोरम लोकतान्त्रिकका भोगेन्द्र चौधरी, रामसपाका गजेन्द्र मण्डल, स्रेस्तेदारनरेन्द्र श्रेष्ठ, जिल्ला बार एकाईका कृपानारायण यादव, पुनरावेदन बार एकाईकी सबिता कोइराला, पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु मण्डल, प्रहरी नायव उपरिक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी निरीक्षक गोकर्ण भट्टराई, बाल कल्याण समितिका पुनम चौधरी, प्रेस चौतारीका नर्मदेव यादव, जिल्ला बाल क्लब सञ्जालका अमर यादव, सहयोगी समाजका रामप्रसाद चौधरीलगायत अधिवक्ता, सञ्चारकर्मी, अधिकारकर्मीको उपस्थिती रहेको थियो ।कार्यक्रम सञ्चालन पत्रकार हेमशंकर सिंहले गरेका थिए ।

तपाईको प्रतिक्रिया