१२ असार,रविन्द्र साह सप्तरी। अहिलेको परिवेशमा सहकारीकै माध्यमबाट देश र समाजको विकास हुने कुरामा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । जनज्योति कृषि सहकारी संस्था लि.मलेठद्वारा शनिबार राजविराजमा आयोजित सहकारी सचेतना, शेयर विस्तार र आव २०७३-०७४ को बार्षिक कार्य योजना सम्बन्धि एक दिने विचार गोष्ठिका सहभागिहरुले सो कुरामा जोड दिएका हुन ।

आयोजिक विचार गोष्ठीमा सहकारी डिभिजन कार्यालय लहानका प्रमुख राम प्रसाद सुवेदीले प्रशिक्षण दिँदै सहकारी संस्थाहरुले व्यक्तिगत लाभमा नपरी समूहगत लाभका लागि कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले सहकारी संस्थाप्रति विगतमा नकारात्मक सोच भएपनि अहिले सहकारी संस्थाहरुले समूहगत कार्य गर्दै समाजप्रति सकारात्मक ढंगले कार्य गरिरहेकोले नकारात्मक सोचमा परिवर्तन आएको दाबी गर्नुभयो ।

सो गोष्ठीमा संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले चालु आर्थिक वर्षमा संस्थाले ३ करोड ४० लाख लगानी गरेको जानकारी दिँदै १ हजार १ सय शेयर सदस्यबाट ५१ लाख बढी चुक्ता शेयर पुँजी रहेको सार्वजनिक गर्नुभयो । सोही कार्यक्रममा दुई दर्जन बढीले संस्थाको शेयर सदस्यता लिएको जसबाट करिब ८ लाख रुँपैया जम्मा भएको छ ।

संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा सहकारी डिभिजन कार्यालय लहानका प्रमुख राम प्रसाद सुवेदीको प्रमुख आतिथ्यमा आयोजित सो विचार गोष्ठिमा राष्ट्रिय सहकारी बैंक राजविराजका प्रमुख विप्लव कर्ण, बरिष्ठ पत्रकार एवं संस्थाका शेयर सदस्य अनिल कुमार अनल, ग्लोबल बहुमुखी सहकारी संस्थाका संस्थापक अध्यक्ष सुखराम यादव, राजनीतिकर्मी एवं समाजसेवी गजेन्द्र कुमार मण्डल सहितकाहरुले संस्थाको उन्नति प्रगतिको बारेमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया