khem-n-raksha-sucide

१२ असार, गणेश लम्साल, विराटनगर । सँगै जिउने र सँगै बाँच्ने कसम खाएका प्रेमी–प्रेमिकाले एकैदिन आत्महत्या गरेका छन् । मोरङको केराबारी– २ की १७ वर्षीया रक्षा भण्डारी र केराबारी– ४ कुवानीका १९ वर्षीय खेमप्रसाद बरालले शनिबार एकैदिन आ–आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् । यसै वर्ष केराबारीस्थित मछिन्द्र माविबाट एसएलसी पास गरेका बराल र भण्डारी लामो समयदेखि प्रेम सम्बन्धमा रहेको प्रहरीले जनाएको छ ।

दुवैजनाको प्रेम सम्बन्धमा घरपरिवारले स्वीकृति नदिएपछि दुवैजनाले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय केराबारीका सई सूर्य प्रसाईंका अनुसार टाउको दुख्यो भनेर कोठामा पसेकी रक्षा सलको पासो लगाएर झुन्डिएकी थिइन् । प्रेमिकाले आत्महत्या गरेको खबर पाएलगत्तै खेतमा पानी लगाउन गएका खेमप्रसाद पनि सुसाइड नोट लेखेर नाइलनको पासोमा आफ्नै कोठामा झुन्डिएका थिए । दुवैजनाको तत्काल मृत्यु भएकाले शव परीक्षण गराई प्रहरीले परिवारलाई अलग–अलग रूपमा जिम्मा लगाएको थियो ।

उनीहरूको शनिबारै दाहसंस्कार गरिएको आफन्तले जनाएका छन् । खेमप्रसादले प्रेमिका रक्षालाई सम्बोधन गर्दै लेखेको सुसाइड नोटमा बिरामी हुँदा पनि साथ दिएको तर अकस्मात मृत्यु रोजेर आफूलाई सेवा गर्ने अवसर नदिएको भन्दै गुनासो गरेका छन् । उनले आफूलाई रक्षा जलाएकै चितामा जलाइदिन पनि आग्रह गरेका छन् । रक्षाका आफन्तले पोस्टमार्टमपछि जिम्मा लिएर केही पहिले नै शव जलाएका थिए भने खेमप्रसादलाई आफन्तले रक्षालाई जलाएकै स्थानमा जलाएका थिए । -नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया