काठमाण्डाै । अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको छ । उनीहरूलाई शनिबार मलेसियास्थित नेपाली दूतावासले उद्धार गरेको हो । फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो ।

 क्वालालम्पुर स्थित नेपाली दूतावासका अनुसार उद्धार गरिएका १६ मध्ये सातलाई नेपाल फर्काइएको र बााँकीलाई फर्काउने तयारी भइरहेको छ । नेपाली दूतावासले आइतबार जारी गरेको विज्ञप्तिअनुसार उनीहरूलाई विदेशी तथा नेपाली मानवतस्करले अमेरिका तथा अस्ट्रेलिया पठाइदिन्छु भनेर मलेसिया र इन्डोनेसिया हुँदै डुंगाबाट माइक्रोनेसिया पुर्‍याएका थिए ।

उनीहरू कागजातविहीन अवस्थामा थिए । नेपाल फर्किएकाहरूमा पाल्पाका वसन्तबहादुर दर्लामी, चितवनका प्रवीन लामा, मकवानपुरका सोमबहादुर लामा थिङ, इलामका सञ्जीव राई, चितवनका स्याम्युल तामाङ, धनुषाका अमितकुमार साह र चितवनका जयराम वाइबा छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया