Shose
एकजना पुरुषको वैवाहिक जिवन उनको जुत्ताप्रेमले झण्डै ध्वस्त पारिसकेको छ । बेलायतको लिड्सका ४४ वर्षीय जेसन अक्स्लीको जुत्ताप्रेम उनकी पत्नीका लागि असह्य भैसकेको छ र उनले जुत्ता र श्रीमतीमध्ये एकलाई रोज्न आफ्नो श्रीमानलाई चेतावनी दिइसकेकी छिन् ।

जेसन जुत्ताका यति शौखिन छन् की उनले हरेक महिना १ सय पाउण्डका जुत्ता नियमित रुपमा खरीद गर्छन् । उनले अहिलेसम्म डेढसय जोर जुत्ता जम्मा गरिसकेका छन् । जुत्ता एडिडास ब्राण्डका हुन् । तर लोग्नेको डरलाग्दो जुत्तामोहका कारण श्रीमती फेय हैरान भैसकेकी छिन् ।

पूरै घर अहिले जुत्ताले ढाकिएको छ । ५० जोर जुत्ता पलंगको मुनि छन् । ८० जोर दराजमा छन् । २० जोर बाहिर यत्रतत्र देखिन्छन् ।
जेसन आफ्नो कमाइको धेरै पैसा जुत्तामै खर्चिन्छन् । उनी जुत्तामा यति आश्रित छन् की जुत्ताको रंग तथा प्रकारकै आधारमा अन्य पहिरनकोे छनोट गर्छन् ।

लोग्नेको जुत्ताप्रेमले घर चलाउनै मुस्किल पर्न थालेपछि ३६ वर्षीया श्रीमती फेयले भनिसकेकी छिन् : जुत्तामा खर्च बन्द गर, नत्र तिमीलाई छाडिदिन्छु ।

तर जेसन श्रीमतीको धम्कीलाई मानेर जुत्ता किन्न छाड्ने पक्षमा छैनन् । उल्टै छोराछोरीहरु एउटै बेडरुममा सुतुन् र आफ्ना लागि जुत्ता राख्ने एउटा कोठा खाली होस् भन्ने चाहना उनको छ ।

 

तपाईको प्रतिक्रिया