काठमाडौं । सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रको छ । केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै प्रधानमन्त्री छन् ।जोकोहीलाई लाग्छ, पार्टीकै नेतृत्वमा सरकार बनेकाले माओवादी केन्द्रका नेता–कार्यकताबाटै सिंहदरबार र बालुवाटारमा भीडभाड बढेको छ । उनीहरू सहजै प्रवेश पाइरहेका छन् । तपार्इंले यस्तो सोचिरहनुभएको छ भने पूर्णतः गलत हुनुपर्छ ।

विभिन्न १० माओवादी घटकबीचको एकतापछि बनेको नेकपा माओवादी केन्द्रका ३३ सदस्यीय हेडक्वार्टर सदस्यमध्ये मुख्य नेताहरूले नै अहिलेसम्म बालुवाटार र सिंहदरबारमा प्रवेश पाएका छैनन् ।

आफ्नै पार्टीका मन्त्रीलाई भेटेर सल्लाह÷सुझाव दिनु त परै जाओस्, मूल गेटबाटै पस्नसमेत पाएका छैनन् । बालुवाटार र सिंहदरबार प्रवेश नपाउनेमा सामान्य नेता मात्रै नभएर पूर्वमन्त्रीसमेत छन् ।

पूर्ववनमन्त्री मातृकाप्रसाद यादव प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई भेट्न साउन अन्तिम साता बालुवाटार गए, त्यो दिन उनी गेटबाट भित्र पस्नसमेत पाएनन् । प्रधानमन्त्रीको सचिवालयले समेत बेवास्ता गरेपछि यादव प्रधानमन्त्री दाहालसँग निकै रुष्ट बन्दै राजधानी छाडेर मधेस फर्किएका छन् ।

पूर्वमन्त्री यादव मात्रै होइनन्, बालुवाटार र सिंहदरबारमा प्रवेश नपाउनेमा यादव मात्रै होइनन्, एकता प्रक्रियामा पार्टीको नेतृत्व नै गरेर आएका नेता मणि थापा, तिलक परियार, जयपुरी घर्ती तथा प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारको लाइनमा समेत रहेका नेकपा क्रान्तिकारी माओवादीबाट आएका चर्चित नेता कुलबहादुर केसीलगायतले समेत बालुवाटार र सिंहदरबारमा प्रवेश पाएका छैनन् ।

प्रवेश नपाएपछि अहिलेसम्म प्रधानमन्त्री निवास बालुवाटार र मन्त्री कार्यालय सिंहदरबारमा छिरेर आफ्नै मन्त्रीहरूलाई बधाई तथा सुझावहरूसमेत दिन सकेका छैनन् । नेतृ घर्तीले सिंहदरबारमा आफ्नो पुरानै सभासद्को कार्डका आधारमा छिर्ने गरेको तर बालुवाटार छिर्न भने भित्रबाट सिफारिस आउनुपर्ने नियम भएकाले भित्रबाट नाम आए मात्रै छिर्न पाइने भन्दै आफूले प्रयास नगरेको बताइन् ।

बालुवाटार छिर्न चाहने अन्य नेताहरू भने नेतृत्व र प्रधानमन्त्रीको सचिवालयले बिल्कुलै बेवास्ता गरेको भन्दै आक्रोश पोख्न थालेका छन् । अाजकाे राजधानीमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया