Nepal-Airlines

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले गत आर्थिक वर्षमा लक्ष्यको झन्डै शतप्रतिशत संख्यामा अन्तरराष्ट्रिय उडान गरेको छ। निगमले वर्षभरिमा २ हजार ७६६ उडान गर्ने लक्ष्य राखेकामा २ हजार ७३६ उडान गर्न सफल भएको हो । यो लक्ष्यको ९८ प्रतिशत हो।

बारम्बार उडान स्थगित हुँदा वार्षिक उडान लक्ष्य पूरा गर्न असफल हुँदै आएको निगम अन्ततः लक्ष्यनजिक पुग्नुलाई यात्रु तथा पर्यटन व्यवसायीहरूले उत्साहजनक रूपमा लिएका छन् ।   उडान संख्याजस्तै निगमले राखेका धेरैजसो लक्ष्यको परिणाम सकारात्मक देखिएको छ । निगम स्रोतकाअनुसार २०४६ पछि पहिलोपटक निगमको समग्र नतिजा लक्ष्यनजिक पुगेको हो।

विगतका वर्षहरूमा पुराना दुई जहाजको भरमा व्यवसाय गर्दै आएको निगम नयाँ जहाज खरिदसँगै वार्षिक प्रक्षेपण तथा लक्ष्यनजिक पुगेको हो। “हामी आर्थिक वर्ष ०७२÷७३ का  अधिकांश सूचकांकमा लक्ष्यनजिक पुगेका छौं,” प्रवक्ता रामहरि शर्माले भने, “दुई वर्षअघि एयरबस खरिद गरेर उडान सुरु गरेसँगै प्रायः क्षेत्रमा हाम्रा लक्ष्यहरू पूरा हुने क्रममा छन् ।”

निगमले गत आवमा ३ लाख ९८ हजार अन्तरराष्ट्रिय यात्रुलाई सेवा दिने प्रक्षेपण गरेकोमा ३ लाख ४४ हजार यात्रुलाई सेवा दिएको छ।यो लक्ष्यको ८६  प्रतिशत हो । निगमले चालू आर्थिक वर्षमा भने ४ लाख ५० हजार यात्रु बोक्ने प्रक्षेपण गरेको छ भने २० अर्ब रुपैयाँ आम्दानी गर्ने  लक्ष्य राखेको छ।

निगमले गत आवमा लक्ष्यको ६५ प्रतिशत मात्रै आम्दानी गरेको छ । १६ अर्ब ८५ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकामा ११ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ। यस्तै, १३ अर्ब २९ करोड रुपैयाँ खर्च गर्ने अनुमान गरेकोमा १० अर्ब ५२ करोड रुपैयाँ मात्रै खर्च गरेको छ । “निगमले जतिसक्दो कम खर्च गर्ने रणनीति अपनाएकाले खर्च कम गर्न सकेका हौं,” प्रवक्ता शर्माले भने।

 

तपाईको प्रतिक्रिया