china mahra visit

काठमाण्डाै । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सम्भव भएसम्म नेपालसँग सहकार्य गर्न तयार रहेको प्रस्ट पारेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग बुधबार भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्रीले सो धारणा राखेका हुन्।

चिनियाँ प्रधानमन्त्रीले नेपालमा सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै चीनले गर्ने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्। बेइजिङस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री लीले नेपालसँग सम्भव भएसम्म सहकार्य गर्न तयार रहेको बताएका हुन्। चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोज अन्त्यतिर नेपाल भ्रमणमा आउने तयारी छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार परिर्वतनसँगै राष्ट्रपति सीको भ्रमणलाई लिएर शंका उठेपछि प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री महरालाई विशेष दूत बनाएर बेइजिङ पठाएका हुन्। महराले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री महराले बुधबार चिनियाँ प्रधानमन्त्री खछ्याङसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लीको शीघ्र नेपाल भ्रमणका विषयमा कुराकानी भएको थियो। सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति सी र आफू नेपाल भ्रमण गर्न सकारात्मक रहेको जानकारी गराएका छन्। आजको राजधानी दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया