prachanda-Upendra yadav

काठमाडौं। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अन्तिम राजनैतिक परीक्षा सुरु भएको बताएका छन् ।

‘प्रचण्डजीको अन्तिम राजनैतिक परिक्षा सुरु भएको छ,’ अध्यक्ष यादवले भने, ‘मधेसी जनजाति लगायतका पक्षमा संविधान संशोधन गरेर पुष्पकमल दाहाल प्रचण्ड नाममा कायमै रहने कि धोखा दिएर राजनैतिक अस्तित्व समाप्त पारी फेरि छविलाल दाहालकै नाममा झर्ने ?’

गत वर्ष भएको मधेस आन्दोलनका क्रममा सप्तरी जिल्लामा सहिद भएकाहरुको स्मृतिमा आइतबार भारदहमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले माओवादी,कांग्रेसको गठबन्धनले विगतमा गरेको गल्ती संशोधन मार्फत सच्याउने अवसर पाएको बताउँदै भने,‘विश्वास त छैन तर संशोधन गर्लान् कि भनेर केही समय त हेर्नैपर्छ ।’

आपत पर्दा सम्झौता गर्न र टर्दा कार्यान्वयन गर्न बिर्सिदिने नेपाली सत्ताको पुरानो संस्कृति रहेको आरोप लगाउँदै अध्यक्ष यादवले आफूहरुले आन्दोलनको तयारीलाई तिब्रता दिएको बताए । ‘यो सरकारलाई केही दिन पर्खन्छौ,आन्दोलनको तयारी गर्दैछौं, माग अनुसार संविधान संशोधन गरि अधिकार सुरक्षित नगरिए दसैं पछि सडक आन्दोलन फेरि सुरु गर्ने छौं,’ यादवले भने, ‘कुनै पनि हालतमा यो संविधान कार्यान्वयन हुन दिँदैनौं, यो संविधान प्रतिगामी हो ।’

पूर्ववर्ती ओली सरकार इतिहासकै सबभन्दा बढी भ्रष्ट सरकार भएको आरोप लगाउँदै यादवले मधेस आन्दोलनमा दमन गर्ने र तिनका मतियारहरुलाई अन्तर्राष्ट्रिय अदालतसम्म उभ्याएरै छाड्ने दाबी गरे ।कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया