purba muma bada maharani Ratna

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले नारायणहिटी दरबारभित्र पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मी शाह बस्ने महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटेको छ । पटक–पटक ताकेता गर्दासमेत महसुल नतिरेपछि आइतबार लाइन काटिएको हो ।

प्राधिकरण रत्नपार्क वितरण केन्द्रका लेखा प्रमुख टीकादत्त ढकालले महेन्द्र मञ्जिलको नाममा जरिवानासहित ४६ लाख ६४ हजार बक्यौता छ । जरिवानाबाहेक मात्रै ३७ लाख ३१ हजार बक्यौता छ । समयमा महसुल नतिर्ने ग्राहकलाई २५ प्रतिशत जरिवाना लाग्छ । ‘महेन्द्र मञ्जिलले ०६८ साउनबाट विद्युत् महसुल तिरेको छैन, हामीले ताकेता गर्दासमेत कुनै सुनुवाइ भएको थिएन,’ प्रमुख ढकालले भने, ‘आइतबार हामीले लाइन काटिदिएका छौं ।’

महेन्द्र मञ्जिलमा लोडसेडिङको समय पनि बिजुली जाँदैन थियो । डेडिकेटेड फिडरमार्फत त्यहाँ २४ सै घन्टा निरन्तर आपूर्ति हुने विद्युत् दिइएको थियो । ऊर्जामन्त्री जनार्दन शर्माले १ भदौमा ठूलो रकम बक्यौता रहेका १० ग्राहकको लाइन तीन दिनभित्र काट्न निर्देशन दिएपछि प्राधिकरणले लाइन काट्न सुरु गरेको हो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया