इनरुवा भाद्र ८/पछिल्लो समय सामूहिक रुपमा नाँचगान गरी तीज मनाउने चलन बढ्दै गएको छ ।तीज आउन महिना दिन अघि देखिनै तीजका कार्यक्रमहरु आयोजना गरिने गरेका छन् ।सुनसरीमा विगतका वर्षहरुमा महिनौ अघिबाट धुमधामका साथ तीज मनाउँदै आइएतापनि यस वर्ष भने शहर बजारमा यथाकदा सांस्कृतिक कार्यक्रमहरु मात्र देखिएका छन् ।
महिलाहरु समूह बनाई सकेसम्म एकैसाथ सामूहिक रुपमा तीज पर्व मनाउने तर्फ उद्यत देखिन थालेका छन् ।भड्किलो बन्दै गएको तीजलाई मर्यादित र सांस्कृतिक पर्वका रुपमा मनाउन सामूहिकतामा जोड दिन थालिएको स्थानीय महिला सरिता घिमिरे बताउछिन् ।
सुनसरीको सखुवागाछीमा आयोजित सामूहिक तीज कार्यक्रममा सहभागि महिलाहरुले तीजलाई तडकभडक नभई मर्यादित तवरले मनाउन सन्देश दिइरहेका थिए ।कल्याण टोल विकास संस्था र सखुवागाछी महिला समूहले आयोजना गरेको सामूहिक तीज कार्यक्रममा इनरुवा आसपासका महिलाहरुको समेत सहभागिता रहेको थियो । नाँचगान पश्चात सामूहिक दर कार्यक्रमको समेत आयोजना गरिएको थियो ।