काठमाडौ । कच्चा तेलको मूल्य निरन्तर ओरालो लागेपछि अरब मुलुकको अर्थतन्त्रमा परेको संकटको असर नेपालसम्म देखिन थालेको छ । ठूला कम्पनीले कामदार कटौती गर्न थालेपछि वैदेशिक रोजगारमा गएका नेपाली बिचल्लीमा परेका छन् ।
संकट गहिरिएपछि साउदी अरेबियाले विदेशी कामदार भित्र्याउन थप कडाइको घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । गत वर्ष नेपालबाट एक लाख ३८ हजार कामदार साउदी अरेबिया गएका थिए ।
यो संख्या नेपालबाट रोजगारीका लागि बिदेसिनेको एकतिहाइ भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए । वर्षेनी बिदेसिनेको संख्या बढे पनि अरब मुलुकको संकटले कामदारलाई र त्यसले नेपालको गाउँसम्म असर पर्ने थापाको भनाइ छ ।
‘तेलको मूल्य माथि गएन र आफ्नो वित्तीय नीतिमा उनीहरूले केही कडा कदम चाले भने त्यसको असर कामदारको तहमा आइपुग्छ,’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापाले भने, ‘यसको प्रभाव हाम्रो गाउँ–गाउँसम्म पुग्नेछ ।’
अरब मुलुकको समस्याले रेमिट्यान्स पनि घट्न थालेको छ । रेमिट्यान्स घट्दा नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पर्छ । ‘रेमिट्यान्स घट्दा आश्रित परिवार सबैभन्दा धेरै प्रभावित हुनेछन्,’ आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, ‘स्कुल, हस्पिटल, दैनिक उपभोगदेखि मुलुकको समग्र अर्थतन्त्रमा समेत यसको असर देखिनेछ ।’ अाजकाे नयाँ पत्रिकामा समाचार छ ।