काठमाडौं – कांग्रेसमा तीन शीर्ष नेताले प्रधानमन्त्री निर्वाचनमा गल्ती गर्दा राज्यसत्ताका सबै पद गुमाउनु परेको भन्दै उनीहरुलाई सक्रिय राजनीतिक त्यागरे तलको पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन् ।

Nepali-Congress-meeting

दुई दिनदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यले नेतृत्वको असफलताकै कारण कांग्रेस किनारामा धकेलिएको भन्दै जिम्मेवारी लिएर आम कार्यकर्तामाझ माफी माग्न दबाबसमेत नेतृत्वलाई दिए ।

‘अब तीन नेताबाट कांग्रेसको पुनर्जागरण सम्भव नभएको’ भन्दै उनीहरुले तलको पुस्तालाई नेतृत्व छाड्न समेत आग्रह गरे । भारतको इशारामा उम्मेदवारी दिएको भन्दै कार्यकर्ता पंक्तिमा नैशाश्यय आएको भनाइसमेत केन्द्रीय सदस्यहरुको थियो ।

सदस्यहरुले बोल्नुअघि कांग्रेस सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री निर्वाचनमा भोग्नुपरेको असफलताको विषयमा बैठकलाई प्रस्टीकरण दिएका थिए । पस्टीकरण दिने क्रममा तीन नेताबीच जुहारी नै चलेको थियो । कोइरालाले आफूले उपसभापति रामचन्द्र पौडेललाई उम्मेदवार बनाउन खोजेको तर, देउवाले नमानेपछि आफैं अघि सरेको बताएका थिए । लगत्तै झुटो बोलेको भन्दै देउवाले बीचमै प्रतिवाद गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया