Sugur pig saptari rajbiraj sadak

भदौ १२, दिलिप साह सप्तरी । राजविराज नगरभित्र छाडा सुँगुर नियन्त्रण गर्न नसक्दा ज्यान जान सक्ने सम्मको खतरा मडारिएको छ । गएको हप्तामा राजविराज नगरमा सुँगुरबाट फैलिने जापानिज इन्सेफ्लाइटिस रोगका कारण एक बालकको अकालमै ज्यान गएको छ ।

प्रत्येक नगरबासीको घर वरपर यस्ता छाडा सुँगुरको रजाइले दुर्गन्धित बनाउनुको साथै यसले रोग सार्ने गर्दा गत ६ गते राजविराज नगरपालिका-९ तेतरीगाछी निवासी चन्द्रनारायण देवका १३ बर्षीय छोरा रमण देवको मृत्यु भएको छ । अझै छाडा सुँगुर नियन्त्रण नहुँदा बालकको मृत्युपछि राजविराज नगरबासी त्रसित बनेको छ ।

राजविराज नगरपालिकाकै स्वीपरका अधिकाँश छाडा सुँगुरले नगरबासीलाई जापानिज इन्सेफ्लाइटिस रोगका सार्ने मच्छर उपहार दिइरहदा पनि नियन्त्रण तर्फ ठोस पहल देखिएको छैन । करिब तीन वर्ष अघि तत्कालीन सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तको अगुवाइमा नगरमा छाडा सुँगुर नियन्त्रण गर्न प्रयास गरिएको थियो ।त्यसबेला छाडा सुँगुरलाई नियन्त्रणमा लिएर जंगलमा छाडने गरिन्थ्यो । यो अभियान दुई-चार दिनमै नै सकियो । त्यसपछि अहिलेसम्म यसको प्रयास भएको छैन । 

नगरभित्र छाडा सुँगुर नियन्त्रण गर्ने मुख्य जिम्मेबारी निकाय राजविराज नगरपालिका भएपनि यसै नगरपालिमा कार्यरत स्वीपरहरुको ९५ प्रतिशत सुँगुर छाडा छन । यसको नियन्त्रणका लागि नगरपालिकाका कार्यकारी अधिकृत विष्णप्रसाद गुरुङलाई आफ्नै स्वीपरसँग लडन सक्ने साहस देखाउन सकेको छैन ।

नगरपालिकाका स्वीपर र तिनका नातेदारहरुका नै नगरभरी यत्रतत्र छाडा सुँगुर देखिन्छ । यसले नगरको स्वरुप बिगार्नुको साथै जनस्वास्थ्यमा समेत असर पारिरहेको छ । 

नगरको मुख्य सडक, चौक, तरकारी हटिया, गल्ली, सहायक सडक सहित ढल, नालामा सुँगुरको रजाइ नै रहेको छ । स्कूल, क्याम्पस, उच्चमावि, अस्पताल, सरकारी कार्यालयहरु अगाडी सुँगुरको रजाइमा कमि देखिदैनन् । फोहर ब्यवस्थापन, छाडा सुँगुर नियन्त्रण र वर्षौदेखि लामखुट्टै मार्ने विषादी नगरमा नछर्किदा लामखुट्टैको प्रकोप बढ्नुकोसाथै पाँच दिन अघि राजविराजका एक अवोध बालकको जाईपनिज इन्सफलाईटिस प्रजातिका लामखुट्टैको टोकाईबाट अकालमा ज्यान गएको रामनारायण विश्वासको कथन छ ।

गत वर्ष नगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद गुरुङगले छाडा गाईवस्तु नियन्त्रण गर्न लाखौ रुपियाँ खर्चेर बनाएका ढाट एक हप्तामै बिलन भयो । अहिले त्यो ढाट स्थलमा बगैचा छ र छाडा गाईबस्तु अनियन्त्रित नै छ । नगरमा छाडा गाईवस्तु, सुँगुर, फोहरले दुर्गन्ध नगरको सरसफाइ तथा वर्षामा नाला, ढल माटोले पुरिएकोले त्यसको सफाइ भन्दा व्यक्तिगत आर्थिक लाभ हुने काममा मात्र नगर अधिकृतले ध्यान दिने गरेको नगरबासीको बुझाइ छ ।

जापानिज इन्सेफ्लाइटिस रोगले बालकको मृत्यु भएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको अध्यक्षतामा गत मंगलबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले १२ देखि २३ महिना उमेर समूहका बालबालिकालाई नजिकको खोप केन्द्रमा जापानिज इन्सेफ्लाइटिस बिरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

जापानिज इन्सेफ्लाइटिस सार्ने मच्छरले सुर्याेदय र सुर्यास्तको बेला टोक्ने भएकाले यस समयमा बालबालिका बढी प्रभावित हुनसक्ने हुँदा पूरा जीउ ढाक्ने कपडा लगाउन समेत आग्रह गरेको छ ।आफ्ना घर वरिपरीको खाल्डोमा पानी जम्न नदिन र एक हप्ताभित्र राजविराज नगरपालिका क्षेत्रभित्रका छाडा सुँगुर बँगुरहरुलाई आ-आफ्नो खोरभित्र राखेको नपाइएमा त्यस्ता छाडा सुँगुरलाई नष्ट गरिने, फोहोर फ्याँक्दा नगरपालिकाले राखेको ड्रममा मात्र फ्याँल्न आग्रह गर्दै पशु चौपायहरुलाई पनि बाहिर सडकमा नछाडन आग्रह गरेको छ । पशु चौपायलाई छाडा छाडेको पाइएमा नियन्त्रणमा लिइ कारबाही गरिने निर्णय गरेको छ ।

सुगुर, बंगुर, हास लगायतबाट लामखुट्टेका माध्यमबाट मानिसमा जापानिज इन्सेफ्लाइटिस रोग सर्ने गरेको छ । सेतो जातको लामखुट्टेले टोकेपछि जापानिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्दछ । गर्मीको मौसममा बढी लामखुट्टे लाग्ने भएपनि वर्षौदेखि राजविराज नगरसहित जिल्लामा लामखुट्टे मार्ने औषधि छर्केको छैन भने सदरमुकाममै सुँगुरको नियन्त्रण समेत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया