Madira Niyantranbhadakuda saptari dilip

१३ भदौ, दिलिप  साह सप्तरी । सप्तरी प्रहरीले अबैद्य घरेलु मदिरा नियन्त्रण कार्यलाई तीब्रता दिदै आएको छ । राजविराज नगरसहित जिल्लाका ग्रामिण क्षेत्रमा समेत यस कार्यलाई तीब्रता दिएको हो ।

मदिरा सेवनले अपराध, सवारी दुर्घटना, समाजमा अशान्ति भइरहेको भन्दै प्रहरीले जिल्लामा अबैध मदिरा नियन्त्रण गर्न गत भदौ १ गतेदेखि १५ दिने अभियान थालिएको हो । अबैध रुपमा पसल सञ्चालन गरेका पसल सञ्चालक, मदिरा उत्पादन गर्न प्रयोग गरिने भाँडाकुडा, कच्चा पदार्थ तथा तयारी मदिरा बरामद गरी कारबाही थालिएका छन ।

अभियान अन्तर्गत अबैध घरेलु मदिरा उत्पादन, बिक्रीवितरण तथा अबैध मदिरा पसललाई नियन्त्रण गर्न लागेको जानकारी दिदै सप्तरी प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले यसको नियन्त्रण गर्न सकिएमा आधा अपराध स्वतः नियन्त्रण हुने विश्वास रहेको बताउनुभयो ।

यसकार्य अन्तर्गत प्रहरीले पछिल्लो पटक अवैध मदिरा सहित एक जनालाई नियन्त्रणमा लिएकोछ । इलाका प्रहरी कार्यालय भेडियाको टोलीले भेडिया‍-३ स्थित एक पसलबाट २५ लिटर घरेलु मदिरासहित पसल धनि तेजबहादुर मगरलाई नियन्त्रणमा लिएको हो । बरामद मदिरासहित मगरलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरी नायब उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस अघि प्रहरीले राजविराज नगरका वार्ड नंं ३, ५, ४, ७, ९ सहित छिन्नमस्ता, कञ्चनरुप नगरपालिका, हनुमाननगर नगरपालिका, रायपुर, पथरगाडा, मल्हनवा लगायत करिब दुई दर्जन गाविसमा अबैध मदिरा उत्पादक, तयारी, कच्चा पदार्थ, भाडाँकुडाँ नियन्त्रणमा लिई कारबाही गरिसकेको छ ।

प्रहरीले थालिएको यस अभियानले सहर तथा ग्रामिण क्षेत्रमा रहेका अबैध मदिरा पसलहरु बन्द हुने अवस्थामा पुगेका छन भने कतिपय स्थानमा यस्ता पसल तत्काल पूर्ण रुपमा बन्द भइसकेको छ ।

 

तपाईको प्रतिक्रिया