लाइन काट्नथालेपछि सात लाख बढी बक्यौता रकम असुली

बिद्युत प्राधिकरण वितरण केन्द्र राजविराजमा विद्युत महशुल बुझाउँदै ग्राहकवर्ग ।
बिद्युत प्राधिकरण वितरण केन्द्र राजविराजमा विद्युत महशुल बुझाउँदै ग्राहकवर्ग ।

१४ भदौ ,  दिलिप साह राजविराज । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले रकम नतिर्नेको लाइन काट्न थालेपछि रु. सात लाख २६ हजार चार सय असुली गरेको छ । वर्षौंदेखि विद्युत महशुल नतिर्ने एक लाख भन्दा बढी बक्यौता रहेका ग्राहकहरुको सूची तयार गरी लाइन काटिन थालिएपछि सो रकम असुली भएको हो ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजका प्रमुख रामउद्गार साहका अनुसार अहिलेसम्ममा ५५ जनाको लाइन काटिसकेको छ । जिल्लाका सहरी र ग्रामिण क्षेत्र गरी कुल ५२ हजार ग्राहक रहेकोमा रु.२४ करोड ४७ लाख बक्यौता रहेको उहाँले जानकारी दिनुभयो ।

जसमध्ये ग्राहस्थमा रु. १३ करोड १२ लाख, औद्योगिकतर्फ रु. दुई करोड २३ लाख, सरकारी कार्यालयतर्फ रु. एक करोड २२ लाख र सडक बत्ती प्रयोजनमा रु. पाँच करोड ६७ लाख बक्यौता रहेको प्रमुख साहले जानकारी दिनुभयो ।विद्युत महशुल बक्यौता रहेका सरकारी कार्यालयहरुलाई समेत सात दिनभित्र बक्यौता विद्युत महशुल बुझाउन पत्राचार गरिसकेको जानकारी दिदै उहाँले सो समयसीमा भित्र नबुझाउने कार्यालयको पनि लाइन काटिने बताउनुभयो ।

उहाँले भन्नुभयो, बक्यौता रकम बुझाउन हामीले पटक–पटक ग्राहक महानुभावलाई आग्रह गर्दा पनि बेवास्ता गरिएपछि बाध्य भएर लाइन काट्न थालेका छौं ।

तपाईको प्रतिक्रिया