२० भदौ, इटहरी । कृषि विकास बैङ्क इटहरीले आर्थिक बर्ष २०७२–०७३ को अवधिमा ७९ करोड रुपियाँ कृषि तथा गैर कृषि र सेवाजन्य क्षेत्रमा लगानी गरेर २ करोड ५१ लख रुपियाँ नाफा आर्जन गरेको तथ्याङ्क दिएको छ ।

इटहरी उपमहानगरपालिका क्षेत्रमात्र कार्य क्षेत्र रहेको कृषि विकास बैङ्क इटहरीले ५ सय ६२ जना सेवाग्राहीहरुमा लगानी गर्दै आएको कुल लगानीबाट ७४ करोड लगानी असुली गरिसकेको बैङ्कका प्रवन्धक रमेश तामाङले जानकारी दिनुभयो ।भाका नाघेका ऋण अर्थात कर्जा नभएको थप जानकारी दिनुहुँदै बैङ्कका सूचना अधिकृत चन्द्रमणि काफ्लेले लगानीमा रहिरहेको ऋण ४७ करोड रहेको र त्यो पनि नियमित रुपमा बैङ्क दाखिला हुने क्रममा रहेको बताउनुभयो ।

यसैगरी बैङ्कले इटहरी उपमहानगरपालिकामा गाभिएका हाँसपोसा पकली एकम्वा र खनारका ४ हजार ५ सय जेष्ठ नागरिक अपाङ्गता भएका एकल महिला लगायतको १ करोड २० लाखभन्दा बढि सामाजिक भत्ता वितरणको सेवा समेत गर्दै आएको पनि थप जानकारी दिएको छ ।
नियमति आम्दानीको स्रोत खुलेको प्रमाणित कागजातका आधारमा आवास निर्माण कर्जा समेत प्रदान गर्दै आएको बैङ्कले यो शिर्षकमा आफ्ना सेवाग्राही ग्राहकलाई ४ करोड बढि कर्जा उपलब्ध गराएको पनि प्रवन्धक तामाङले जानकारी दिनुभयो ।

एटिएम एसएमएस अलर्ट सेवासँगै सुनचाँदी कर्जाको समेत सुविधा दिँदै आएको कृषि बैङ्क इटहरीले गाई पालन,बङ्गुर पालन माछा पालनसँगै तरकारी खेती गैर कृषि सेवा तथा उद्योग र सवारी साधन खरिद कार्यमा पनि कर्जा प्रवाह गर्दै आएको बताईएको छ ।

तपाईको प्रतिक्रिया