Yuwa

२२ भदौ, दिलिप साह सप्तरी । ५० हप्ते सरसफाई अभियानको शुभारम्भ गरेको सप्तरीका युवाहरुले जिल्लाको प्रत्येक क्षेत्रमा एकै दिन सरसफाई गर्ने भएका छन् ।

सप्तरी युवा मूल समारोह समिति अन्तर्गत सबै क्षेत्रका संयोजकहरुको मंगलबार राजविराजमा बसेको बैठकले सदरमुकामसहित सबै क्षेत्रमा सरसफाई गर्ने निर्णय गरेको हो । एक ठाउँमा मात्र सरसफाई गर्दा अभियानले राखेको लक्ष्य पूरा नहुने भन्दै सबै क्षेत्रको कुनै ठाउँमा सरसफाई गरिनेछ ।

६ वटा निर्वाचन क्षेत्र रहेको सप्तरी जिल्लाको ६ वटै क्षेत्र र सदरमुकाममा प्रत्येक शनिबार एकसाथ सरसफाई गर्न युवा पदाधिकारीहरु सहमति भएका हुन् । सबै क्षेत्रको कुनै एक ठाउँ तथा सदरमुकाम राजविराजमा गरी सात ठाउँमा सरसफाई गरिने निर्णय भएको हो। मूल समितिका सदस्य मोहन यादवले भने “सरसफाई गर्न सबै साथी तयार भएका छन् ।”

बैठकले सार्वजनिक ठाउँमा फोहोर नगर्न सन्देश प्रवाह गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले सबै गाविस र नगरपालिकामा युवा समिति बनाउने निर्णय गरेको छ । क्षेत्रिय र जिल्ला समितिको सहयोगमा सबै गाविस र नगरपालिकामा समिति बनाउने निर्णय भएको सदस्य आयुष श्रेष्ठले जानकारी दिए ।

समितिको अर्काे बैठक क्षेत्र नम्बर २ को संयोजनमा आगामी असोज ८ गते हनुमाननगर योगिनिमाई नगरपालिकामा बस्ने निर्णय भएको सदस्य पवन साहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया