२२ भाद्र, काठमाडौं / उनको नाम विजय, तर बाँच्ने उपाय फेला नपरेपछि जिन्दगीबाटै पराजय हुने बाटो रोजे । गरिब बाआमा र दाजुको दयनीय अवस्था देखेपछि अस्पतालमा बाँच्ने संघर्ष गर्दागर्दै परिवार, आफन्त र चिनेजानेकालाई रुवाउँदै बिदा भए । दुवै मिर्गौला फेल भएर शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षका विजय खड्काले मंगलबार अस्पतालमै आत्महत्या गरेका हुन् ।

पराजयको बाटो रोज्ने विजयको कथा

विजयको डेढ वर्षअघि मिर्गौला फेल भएको थाहा भएको हो । त्यसपछि परिवारले उनलाई डाक्टरकोमा देखाए । डाक्टरले दुवै मिर्गौला फेल भइसकेको हुनाले छिटै प्रत्यारोपण गर्न या डायलोसिस गर्न सुझाव दिए । प्रत्यारोपण गर्न तत्काल तीनदेखि चारलाख रुपैयाँ चाहिन्थ्यो । परिवार गरिब भएको हुनाले तत्काल प्रत्यारोपण गर्न सक्ने अवस्था थिएन । प्रत्यारोपण गर्नुअघि डाक्टरकै सल्लाहमा गएको वैशाख १ गतेदेखि उनको शिक्षण अस्पतालमा डायलोसिस सुरु भएको थियो ।

हप्तामा तीनपटक डायलोसिस गर्नुपर्ने हुन्थ्यो । दुईपटक निःशुल्क डायलोसिस भएपनि हप्ताको एकपटक भने घरपरिवारले नै पैसा तिर्दै आएका थिए । विजयका दाजु विनीतका अनुसार एकपटक डायलोसिस गर्दा तीन हजार रुपैयाँ तिर्नुपथ्र्यो । डायलोसिसकै लागि काठमाडौंमा डेरा गरेर बस्नुपर्ने भयो । डेरा गरेर बस्दा महिनाको झण्डै २० हजार रुपैंया खर्च हुन्थ्यो । यति धेरै रकम जुटाउने हैसियत नभएका परिवारलाई छोरोको उपचारका लागि ऋण खोज्नुपर्ने बाध्यता भयो । ऋणमाथि ऋण थपिँदै गयो ।

तर जतिसुकै ऋण लागेपनि परिवारका कोही आत्तिएका थिएनन् । ऋण लागेपनि छोरो निको भयो भने त पछि कमाई हाल्छ नि भन्ने आश थियो । ज्यानभन्दा ठूलो धन होइन भन्ने बुझेका परिवारले मिर्गौला प्रत्यारोपणको लागि पनि तयारी गर्दै थिए । आफ्नो छोरालाई मिर्गौला दिन आमा तयार हुनुहुन्थ्यो ।
तर भन्ने बित्तिकै प्रत्यारोपण गर्न सकिँदैनथियो । किनकी मिर्गौला दान गर्ने व्यक्तिको पनि स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्थ्यो । दाइ विनीतका अनुसार मिर्गौला दान गर्न तयार भएकी आमाको स्वास्थ्य परीक्षणमा पनि धेरै खर्च लाग्ने रहेछ । आमाको स्वास्थ्य परीक्षणको लागि पनि रकम जुटाउनुपर्ने भयो । एकातिर विजयको डायलोसिसको शुल्क, अर्कोतर्फ मिर्गौला दान गर्ने आमाको स्वास्थ्य परीक्षणको लागि पनि त्यति नै रकमको आवश्यकता । विजयको उपचारमा रकम थपिंदै गयो ।

आफ्नो उपचारको लागि बाआमा र दाजुले ऋण खोजेर पैसा जुटाउनुपरेको विजयलाई पनि थाहा थियो । उनको उपचारमा परिवार जति चिन्तित थियो, त्योभन्दा बढी चिन्ता चाहिँ विजयलाई परिवारमा ऋणको बोझ थपियो भन्ने भयो । त्यसपछि उनले मन थाम्न सकेनन् । मंगलबार बिहान कुर्न बसेका दाजु निदाएको मौका छोपेर उनी अस्पतालको बेडबाट उठे । अनि तीन तलामाथिको झ्यालबाट हाम फाले ।

गम्भीर घाइते भएका उनलाई तत्काल शिक्षण अस्पतालकै आकस्मिक कक्षमा पु¥याइयो । तर उनलाई डाक्टरले बचाउन सकेनन् । जतिसुकै ऋण लागेपनि छोरोलाई लामो आयु दिन लागेका बुवाआमा र दाजु छाँगाबाट खसेजस्तै भएका छन् । गरीब परिवारमा जन्मिएकै कारण उपचार खर्च जुटाउन नसकेर विजय अल्पआयुमै जिन्दगीबाट हार खाएर संसारबाट बिदा भए ।

विपन्नले सहुलियत पाउँछन्, तर प्रक्रिया झण्झटिलो

सरकारले विपन्न नागरिकको लागि भन्दै केही रोगमा सहुलियत उपचारको व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मिर्गौलाको डायलोसिससहित मुटु, टाउको तथा स्पाइनलको चोट, अल्जाइमर, पार्किन्सस र सिकलसेल एनिमिया रोगको उपचारमा सहयोग पाइन्छ ।

यो सहुलियत कसरी पाउने त रु सबैभन्दा पहिले रोग पहिचान भएको डाक्टरको पूर्जि चाहिन्छ । त्यो पूर्जि लिएर आफु बस्ने गाविस वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिस पत्र लिनुपर्छ । त्यसपछि त्यो पत्र लिएर जिल्ला स्वास्थ्य वा जनस्वास्थ्य कार्यालयमा जानुपर्छ । कार्यालयले सहायतको लागि सरकारले तोकेको कुनै अस्पतालमा पठाउँछ ।

अनि त्यही अस्पतालमा पुगेर उपचार गर्दा सहुलियत पाइन्छ ।तर बिरामीलाई कसरी छिटो उपचार गर्ने भन्ने तनावमा रहेका आफन्तलाई यो सबै प्रक्रिया पूरा गर्न असम्भव जस्तै हुन्छ । बिरामीलाई अस्पताल लैजानु कि पूर्जि र सिफारिस बोकेर चारतिर धाउनु रु त्यसैले कमैले मात्र यस्तो सुविधा लिएका छन् । त्यसो त मिर्गौला डायलोसिसमा पाइने सहुलियत पनि अपूर्ण छ । सरकारले हप्ताको दुईपटक डायलोसिस गर्नुपर्ने बिरामीको उपचार मात्र निःशुल्क गर्छ ।

त्यसभन्दा बढी डायलोसिस गर्नुपर्नेले आफैं खर्च जुटाउनुपर्छ । मंगलबार आत्महत्या गरेका विजयको पनि यही भएको हो । उनलाई हप्तामा तीनपटक डायलोसिस गर्नुपर्ने थियो । अस्पतालले दुईपटकको त पैसा लिंदैनथियो । एकपटकको लागि चाहिने झण्डै तीनहजार रुपैंया भने आफैले तिर्नुपथ्र्यो ।

हप्तामा दुईपटक भन्दा बढि डायलोसिस गर्नुपर्नेले निःशुल्कको लागि स्वास्थ्य सेवा विभागमा गएर निवेदन दिन सक्छन् । सम्बन्धित अस्पतालको मेसिन खाली रहेको र बिरामी धेरै नरहेको अवस्थामा मात्र विभागले सिफारिस गर्छ । नत्र गर्दैन । त्यसैले हप्ताको दुईपटक भन्दा बढी डायलोसिस गर्नुपर्नेले निःशुल्क उपचारको सुविधा पाउन सकेका छैनन् ।

गरिब बिरामीले मर्नै पर्ने हो ?

सबैलाई थाहा छ– नेता र पहुँचवालाले हरेक वर्ष सरकारबाट करोडौं रकम उपचार खर्च भन्दै लिइरहेका छन् । आफ्नै खर्चले उपचार गर्न सम्भव भएकाहरुलाई पनि सरकारले उपचार खर्च बाँड्छ । सरकारले दिएको रकम जसरी खर्च गरे पनि भयो । त्यसैले उनीहरु स्वदेशमै हुने उपचारको लागि उनीहरु विदेश पुग्छन् ।

उपचार खर्च पुगेन भन्दै सरकारसँग थप सहयोग माग गर्छन् । अनि सरकारले पनि उनीहरुलाई तुरुन्तै रकम थप गर्ने निर्णय गर्छ ।

‘नेता, पहुँचवाला र हुनेखानेलाई जस्तो गरिबलाई सहयोग खै ? गरीबले चाहिँ बिरामी हुँदा मर्नै पर्ने हो ? हुने खानेले त आफ्नै खर्चमा उपचार गर्न सक्छन्, हुँदा खानेलाई पो सरकारले सहयोग दिनुपर्ने हो’ आमनागरिकले उठाउँदै आएको टिप्पणी हो, यो । यसतर्फ सरकार र सरोकारवालाको गम्भीर ध्यान गएको पाईंदैन ।उज्यालो अनलाईनबाट

 

तपाईको प्रतिक्रिया