Bus-Accident-rasuwa-1

१८ कात्तिक, काठमाडौं । धुन्चेमा भएको दुर्घटनामा परेका शिवप्रसाद अाचार्यले अाफूले हामफालेर ज्यान जोगाएको बताएका छन् । उनले भगवानले बचाएको र अाफूले दोस्रो जुनी पाएको बताएका छन् । उनले भने-बिहान खाना आएर धुन्चे जान बाटोमा बस कुरेर बसेको थिएँ। धुन्चेमा रहेको नेपाल बंगलादेश बैंकमा सेयरका लागि जाने तरखरमा थिएँ। झन्डै दुई घन्टा कुरेर बसेपछि बस आयो। तर यात्रु खचाखच थिए। खाली गाडी पर्खनु समयको मात्र बर्बादी हुने ठानेर सोही बस चढें।

मलाई जसरी पनि धुन्चे जानु नै थियो, बसको छतमा बसें। बस कालिकास्थानमा गएर प्रहरी तथा सेनाको पोस्टमा इन्ट्री भयो। केहीबेर घुम्ती बजारमा रोकियो। त्यहा केही यात्रु झरे, कोही फेरि चढे। बस राम्चेको पहिरो कटेर सानो बस्ती हुँदै अगाडि बढिरहेको थियो। खाल्डाखुल्डी पार गर्दै थियो । अचानक गाडीमा केही आवाज आएजस्तो भयो, बस अनियन्त्रित भयो। बस त सोझै भीरतर्फ खस्न लाग्यो।

मैले एक सेकेन्डमै निर्णय गरेँ-बरु हातखुट्टा भाँच्चियोस्, ज्यान जोगाउँछु। बस खस्दै गर्दा कच्ची सडकतर्फको पहाडमा हामफालें। मसँगै अरू पनि उफ्रिए।
खुट्टामा चोट लागेको छ।

अरू पनि ६ जनाले हामफालेर ज्यान जोगाए। अहिले ती कहाँ छन् थाहा छैन। मलाई भगवान्ले हात थापिदिए, म बाँचें। सुन्छु धेरैले भीरमा बससँगै खसेर ज्यान गुमाएका छन् रे ! मलाई दोस्रो जुनी पाएजस्तै लागेको छ। अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा  खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया